arrow

वेष्ट इन्डिजसँग नेपाल पराजित, आरिफको अर्धशतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ७ बिहिबार
arif-seikh-always-odi.jpg

काठमाडौँ । जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल वेष्ट इन्डिजसँग पराजित भएको छ । 

३४० रनको असम्भव प्रायः चुनौतीको सामना गरेको नेपाल १०१ रनले पराजित भएको हो । नेपाल २ बल खेल्न छँदै अलआउट हुँदै २३८ रन बनायो । 

आरिफ शेखले डटेर सामना गर्दै अर्धशतक बनाए । शेखले ९३ बलमा एक छक्का र चार चौकाको मद्धतले ६३ रन बनाएका हुन् । यो यो छैटौँ एक दिवसीय अर्धशतक हो । 

त्यस्तै आरिफसँग मिलेर सातौँ विकेटका लागि ६८ रनको साझेदारी गर्ने क्रममा अलराउन्डर गुल्सन झाले ५८ बलमा एक छक्का र पाँच चौकाको मद्धतले ४२ रन जोडे । त्यस्तै कप्तान रोहित पौडेलले ३० रन बनाए । त्यस्तै आसिफ शेखले २८ तथा करण केसीले पनि २८ रन बनाए । 

वेष्ट इन्डिजका लागि जासन होल्डरले ३ तथा अल्जारी जोसेफ, किमो पल र अकेल होसेनले समान २–२ विकेट लिए । 

वेष्ट इन्डिजको इनिङ्स
खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै सनसनीपूर्ण शुरुआत गरेको थियो । नेपालको सम्झनयोग्य बलिङका कारण वेष्ट इन्डिजले २ रन जोड्दा पहिलो, ९ रन जोड्दा दोस्रो र ५५ रन जोड्दा तेस्रो विकेट गुमाएको थियो । 

शुरुआती तीन ब्याट्सम्यान पभेलियन फर्केपछि आएका साइ होप र निकोलस पुरनले चौथो विकेटका लागि २१६ रनको साझेदारी गरेपछि नेपाल कमजोर सावित भयो । होपले १३२ तथा पुरनले ११५ रन बनाए ।

वेष्ट इन्डिजले ७ विकेटको क्षतिमा २३९ रन बनायो । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिए । त्यस्तै करण केसी, गुल्सन झा, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले १–१ विकेट लिए । 

विश्वकपको दुई पटकको विजेता (सन् १९७५ को पहिलो संस्करण र सन् १९७९ को दोस्रो संस्करण) वेष्ट इन्डिजसँग नेपालले पहिलो पटक एक दिवसीय क्रिकेट खेलेको हो । नेपालले कुनै पनि विश्वकप विजेतासँग खेलेको यो पहिलो पटकसमेत हो । 

छनोट प्रतियोगितामा नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार ब्यहोरेको थियो । पहिलो खेलमा नेपाल जिम्बाब्वेलाई राम्रो लक्ष्य दिए पनि बलिङ फितलो हुँदा ८ विकेटको हार बेहोरेको थियो । 

दोस्रो खेलमा भने नेपालले अमेरिकामाथि ६ विकेटको जित हासिल गरेको थियो । 

समूह चरणको अवस्था
समूह एमा रहेको नेपालको टिममा आयोजक जिम्बाब्वे, वेष्ट इन्डिज र अमेरिकासँगै नेदरल्याण्ड्स रहेका छन् । 

२ खेलबाट ४ अंकसहित वेष्ट इन्डिज शीर्ष स्थानमा पुगेको छ । २ खेलबाट ४ अंकसहित जिम्बाब्वे दोस्रो स्थानमा झरेको छ । २ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स तेस्रो स्थानमा पुगेको छ । ३ खेलबाट २ अंकको नेपाल चौथो स्थानमा झरेको छ । 

नेदरल्याण्ड्सले आजको खेलमा अमेरिकामाथि ५ विकेटको जित हासिल गर्यो । यो खेल जितपछि नेदरल्याण्ड्स तेस्रोमा पुग्दा हारपछि अमेरिका सुपर सिक्स पुग्ने सम्भावनाबाट बाहिरिएको छ । ३ खेलबाट अमेरिका अंकविहीन छ । 

यो समूहबाट जिम्बाब्वे र वेष्ट इन्डिजले सुपर सिक्समा लगभग स्थान बनाउँदा नेपाल, अमेरिका र नेदरल्याण्ड्समध्ये एक टिम सुपर सिक्समा पुग्दा दुई टिम बाहिरिने छन् । अब नेपाल र नेदरल्याण्ड्समध्ये एक टिम बाहिरिने छ । 

अर्को समूह
समूह बी मा २ खेलबाट ४ अंकसहित ओमान शीर्ष स्थानमा रहेको छ । १ खेलबाट २–२ अंकका श्रीलंका र स्कटल्याण्ड दोस्रो र तेस्रो स्थानमा छन् । 

२ खेलबाट अंकविहीन आयरल्याण्ड र यूएई पुछारमा रहेका छन् ।  

यस्तो छ विश्वकप छनोटको प्रतियोगिता

जिम्बाब्वेमा जारी विश्वकप छनोटमा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् । टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, जिम्बाब्वे, अमेरिका वेष्ट इन्डिज र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, यूएई र स्कटल्याण्ड छन् । 

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । 

सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई प्रमुख दाबेदार मानिएको छ । जिम्बाब्वे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ । 

नेपाल, स्कटल्यान्ड र ओमान आईसीसी विश्वकप लिग टु मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलिरहेका हुन् । अमेरिका र यूएई लिग टुबाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् ।

श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बाब्वे आईसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेलिरहेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ