arrow

आईसीसी विश्वकप छनोट

जित्नैपर्ने दबाबसहित नेपाल र नेदरल्याण्ड्स मैदानमा, नेपाल ब्याटिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ९ शनिबार
cricket-nepal-netherlands.jpg

काठमाडौँ । जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको चौथो तथा समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । 

टस जितेर नेदरल्याण्ड्सले पहिले बलिङ रोजेको छ । त्योसँगै नेपाल ब्याटिङमा उत्रदैछ । खेल १२ः४५ बजे शुरु हुनेछ । 

सुपर सिक्समा पुग्नका लागि नेपालले यो खेल फराकिलो अन्तरले जित्नैपर्ने दबाब रहेको छ । यो समूहबाट जिम्बाब्वे र वेष्ट इन्डिज सुपर सिक्समा पुगिसकेका छन् । 

अब नेपाल र नेदरल्याण्ड्समध्ये एक टिम सुपर सिक्समा पुग्नेछ । समूहका पाँच टिमध्ये दुई टिम बाहिरिने छन् । अमेरिका अहिलेसम्म अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ । 

सुपर सिक्समा पुग्न नेपालले नेदरल्याण्ड्सलाई हराएरमात्र पुग्ने छैन आगामी सोमबार हुने खेलमा वेष्ट इन्डिजले नेदरल्याण्ड्सलाई हराउन पर्ने हुन्छ । 

आजको खेलमा नेपाल पराजित भएमा समूह चरणबाटै बाहिरिने पक्का हुनेछ । 

अहिलेसम्म खेलेका तीन खेलमा नेपालले एक खेल जित्दा दुई खेलमा हार बेहोरेको छ । नेपालले अमेरिकालाई ६ विकेटले हराउँदा जिम्बाब्वेसँग ८ विकेट तथा वेष्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरको हार बेहोरेको थियो । 

त्यस्तै नेदरल्याण्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्याण्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्याण्ड्स औपचारिक रुपमा सुपर सिक्समा पुग्नेछ ।

हेड टु हेड
दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । पछिल्लो समय नेदरल्याण्ड्सले टेष्ट टोली सहभागी सुपर लिग खेलेको थियो । 

हालसम्म नेपाल र नेदरल्याण्ड्स बीचमा दुई एक दिवसीय खेल भएको छ । जसमा नेपाल र नेदरल्याण्ड्सले एक एक खेल जितेका छन् । 

समूह चरणको अवस्था
समूह एमा रहेको नेपालको टिममा आयोजक जिम्बाब्वे, वेष्ट इन्डिज र अमेरिकासँगै नेदरल्याण्ड्स रहेका छन् । 

२ खेलबाट ४ अंकसहित वेष्ट इन्डिज शीर्ष स्थानमा छ । २ खेलबाट ४ अंकसहित जिम्बाब्वे दोस्रो स्थानमा छ । 

अहिले वेष्ट इन्डिज र जिम्बाब्वे भिडिरहेका छन् । जित्ने टोली समूह चरणको विजेता हुँदै सुपर सिक्समा पुग्नेछ । 

२ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । ३ खेलबाट २ अंकको नेपाल चौथो स्थानमा छ । ३ खेलबाट अंकविहीन अमेरिका पुछारमा छ । 

अर्को समूह
समूह बी मा २ खेलबाट ४ अंकसहित श्रीलंका शीर्ष स्थानमा छ । स्कटल्याण्ड २ खेलबाट ४ अंकसहित दोस्रो तथा ओमान ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

२ खेलबाट अंकविहीन आयरल्याण्ड र ३ खेलबाट अंकविहीन यूएई पुछारमा रहेका छन् । यूएई औपचारिक रुपमै सुपर सिक्स प्रवेशको सम्भावनाबाट बाहिरिएको छ भने आयरल्याण्डको अंक गणितीय सम्भावना कायमै छ । 

यस्तो छ विश्वकप छनोटको प्रतियोगिता
जिम्बाब्वेमा जारी विश्वकप छनोटमा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् । टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, जिम्बाब्वे, अमेरिका वेष्ट इन्डिज र नेदरल्यान्ड्स रहेका छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, यूएई र स्कटल्याण्ड छन् । 

हरेक समूहबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । 

सुपर सिक्समा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । पूर्व विश्व च्याम्पियन वेस्टइन्डिज र श्रीलंकालाई प्रमुख दाबेदार मानिएको छ । जिम्बाब्वे पनि घरेलु मैदानको फाइदा उठाउँदै विश्वकप खेल्न चाहन्छ । 

नेपाल, स्कटल्यान्ड र ओमान आईसीसी विश्वकप लिग टु मा शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेलिरहेका हुन् । अमेरिका र यूएई लिग टुबाट घटुवा हुँदै विश्वकप छनोट प्लेअफमा शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा आएका हुन् ।

श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र जिम्बाब्वे आईसीसी विश्वकप सुपर लिगमा पुछारमा रहँदै छनोट खेलिरहेका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ