arrow

नाम जलहरीमा कि ताम्रपत्रमा ? १३ हैन ६ जनाको नाम, छैन केपी ओलीको

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
pashupati-jalhari-weight-2080-03-10.jpg

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मध्यरातसम्म पशुपतिनाथ मन्दिरमा स्थापना गरिएको सुनको जलहरी जोख्ने र जाँच्ने काम गरेपछि जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको नाम राखिएको भेटियो भन्ने प्रसंगले सोमबार दिनभर राजनीतिक वृत्त र सामाजिक सञ्जाल तात्यो । 

त्यसबारे अख्तियारले अहिलेसम्म सार्वजनिक प्रतिक्रिया भने दिएको छैन । संसदमा सत्ता पक्षका सांसद र प्रतिपक्षका सांसदहरुले आफ्ना धारणा राखेर विरोध र प्रतिरक्षा गरेका थिए । कोषका पदाधिकारीहरुले अनौपचारिक रुपमा जलहरी निर्माणमा खपत भएको भनिएको १०८ किलो सुन आइतबार मध्यराति परीक्षणका क्रममा पुष्टि भएको दाबी गरेका छन् । 

सुन जोख्ने काममा सहभागी एक कर्मचारीका अनुसार जलहरी र पेटीसमेत तौलिँदा १०७ किलो ४६८ ग्राम सुन भेटिएको भनेका छन् । साथै जलहरीमा तत्कालीन सरकार र कोषका पदाधिकारीहरुको नाम भेटिएको विषयमा पनि कोष र अख्तियारले कुनै पनि धारणा सार्वजनिक गरेको छैन । 

संसदमा सत्ता पक्षका सांसदहरुले कडा शब्दमा त्यसको विरोध गर्दा एमालेका सचेतक महेश बर्तौलाले त्यसको प्रतिरक्षा गरे । तर उनीहरुले जलहरीमा नाम थियो कि थिएन भन्ने बारेमा कुनै प्रमाणिक आधार पेश गर्न सकेका थिएनन् । 

सञ्चार माध्यममा आएका अप्रमाणिक विषयका आधारमा धारणा राखेका थिए । जलहरी परीक्षणका क्रममा जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री केपी शर्मा ओली, पर्यटन मन्त्री भानुभक्त ढकालदेखि कोषका पदाधिकारीहरुको नाम नै उल्लेख गरेको भेटिएको भन्ने एकाध सञ्चारमाध्यमले बिना ‘कोट’ समाचार प्रकाशन गरे । तर कोषका पदाधिकारीहरु यो समाचार नै झुट्टो भएको दाबी गर्छन् ।  

सत्ताधारी दल कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले जलहरीमा आफ्नो नाम लेखाउने रहर पूरा गर्न सुनको जलहरी लगाएको आरोपसमेत लाग्यो । 

जलहरीमा १३ जनाको नाम छ भनेर धेरै चर्चा भयो । तर के हो त वास्तविकता ? 

यत्रो आरोप लगाएपछि कोषका अधिकारीहरु मोबाइल नै अफ गरेर बसेका छन् । मोबाइल अफ नगरेकाहरुले मोबाइल उठाउँदैनन् । 

यो विषयमा कोषका अधिकारीहरुले अझै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

एक पदाधिकारीले उठाए फोन, खोले यस्तो रहस्य
एक पदाधिकारीले मंगलबार बिहान फोन उठाए । उनले दुई दिन त फोन उठाउन सक्ने अवस्था नरहेको भन्दै दुखेसो पोखे । 

उनले जलहरीमा कसैको नाम नभएको दाबी गरे । उनले भने, ‘जलहरीमा हैन बाहिर ताम्रपत्रमा हो । त्यो त जहाँ पनि उद्घाटन गर्दा राख्छन् । यो ठूलो कुरो हो र ?’

उनले ताम्रपत्रमा मात्र ६ जनाको नाम भएको दाबी गरे । उद्घाटन गर्ने तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र जलहरी बनाउने संयोजन समितिका पाँच जनाको नाम रहेको छ । 

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भने नाम नभएको बताए । उनले तत्कालीन पर्यटन मन्त्री भानुभक्त ढकाल, मन्त्रालयका तत्कालीन सचिव यादवप्रसाद कोइराला, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, जलधारी निर्माण समिति संयोजक एवं हालका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव एवं तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा एवं तत्कालीन कोषका सदस्यसचिव प्रदीप ढकालको नाम भएको बताए । 

उनले यसलाई सामान्य रुपले लिन्छन् । उनले २०४२ सालको उदाहरण दिँदै भने, ‘२०४२ सालमा राजा वीरेन्द्रको पालामा मन्दिरभित्र मार्बल राखेको रहेछ । त्यो बेलाको संयोजन समितिको मान्छे रमेशजंग थापाकोसमेत नाम छ । भनेपछि यो कुन ठूलो कुरो भो र ।’ 

उनले आफ्नो नाम भने खोल्न मानेनन् । भने, ‘भोलि र पर्सीमा हामीले सबै क्लियर गर्दैछौँ । रिपोर्ट आउँदैछ । क्लियर रिपोर्ट आएपछि बोलौँला ।’

तर उनको भनाइलाई पनि पूर्णरुपले विश्वस्त हुने ठाउँ भने छैन । किनकि उनले सुनको तौलबारेमा भने खुराफाती कुरा गरे । 

उनले ‘सुन कम हैन चाहिए भन्दा बढी नै रैछ’ भन्ने प्रतिक्रिया दिए । तब भने उनका भनाइमा शंका गर्ने ठाउँ उब्जिएको हो । 

यसबारेमा अख्तियारले नै बोल्ने आशा गरौँ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ