arrow

पार्टी जोगाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एक होऔँ – कांग्रेस नेता केसी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
arjunnarasingh-kc-always.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसीले पार्टीलाई बचाउन सामाजिक पुनर्जागरणको आन्दोलनमा एक भएर जानुपर्नेमा जोड दिएका छन् । 

शुक्रबार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र विवरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता केसीले पार्टी जोगाउन पुनर्जागरण नै एकमात्र विकल्प भएको बताएका हुन् । 

उनले भने, ‘हामीले पार्टीलाई बचाउनको निम्ति सामाजिक पुनर्जागरणको आन्दोलन सम्पूर्ण रुपले एक भएर जानुपर्ने आवश्यकता छ ।’ 

उनले अब पनि वैचारिकको जागरणलाई सशक्त ढङ्गले जनस्तरसम्म पुर्याउन नसक्ने हो भने यसले पार्टीलाई ठूलो क्षति पुग्ने दाबीसमेत गरेका छन् । 

उनले भने, ‘हामीले वैचारिक जागरणको क्रान्ति जनस्तरसम्म पुर्याउने गरी नयाँ पुनर्जागरण र नयाँ दृष्टिकोण लिएर जानुपर्ने आवश्यकता छ । यदि हामीले यस्तो गर्न सकेनौँ भने यसले पार्टीलाई ठूलो क्षति हुन्छ ।’

नेता केसीले कांग्रेसको इतिहास र अहिलेको गतिविधिमा मेल नखाएको भन्दै यसलाई जतिसक्यो छिटो सुधार गरी वास्तविकता जनस्तरमा पुर्याउनु पर्नेमा पनि जोड दिएका छन् । 

उनले २००७ सालको क्रान्तिदेखि अहिलेको कांग्रेसको स्थिति केलाउँदा फरक परिस्थिति सिर्जना भएको उल्लेख गर्दै भ्रष्टाचारजस्तो गलत प्रवृत्तिको संरक्षक बनेको भन्ने ठूलो दाग मेट्न पनि ठूलो चुनौती रहेको बताए । 

उनले कांग्रेसको गौरवशाली विगत कोट्याउँदै भने, ‘सात सालमा परिवर्तन, क्रान्ति, सामाजिक न्याय, सामाजिक सुरक्षा, आर्थिक समानताको प्रतिनिधिको रुपमा संघर्ष गर्यो । यो इमेज हाम्रो १५ सालसम्म रह्यो । हामीले १५ सालमा निर्वाचन जित्यौँ । ३० वर्षको पञ्चायती विरोधी संघर्षपछि त्यही आशा र भरोसा जनतालाई दिन हामीले फेरि जनमत पायौँ । तर अब अब हामी विस्तारै यथास्थितिवादीको प्रतिनिधि, वेथिति र कुरीति नसुधार्ने, अनि भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने भनेर चिनिन थालेका छौँ ।’

उनले कांग्रेसमाथि लागेको यो दागलाई चिर्नका लागि पनि जनस्तरमा जानुपर्नेमा जोड दिएका हुन् । उनले यसलाई वैचारिक जागरणको क्रान्तिका रुपमा अगाडि नबढाउने हो भने कांग्रेसभित्रको निराशाले विकल्प खोज्न थाल्ने भन्दै नेतृत्वलाई हुनसमेत आग्रह गरेका छन् । 

उनले भने, ‘कांग्रेसमा वैचारिक रुपबाट र नेतृत्वगत रुपबाट नयाँ सामाजिक वैचारिक जागरणको क्रान्ति नै आवश्यक छ । हामी सम्पूर्ण एक भएर यो भ्रमलाई चिर्नुपर्छ । नत्र मान्छेहरु निराशा र विकल्पको खोजीतिर भौतारिने छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ