arrow

देशैभर वर्षा, पहाडमा पहिरो, सचेतना अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १६ शनिबार
weather-raining.jpg

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आज देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

वर्षाका कारण पहाडी भेकका धेरै ठाउँमा पहिरो गएका कारण सहायक मार्गहरु ठप्प रहेका छन् । त्यसैगरी पहिरोकै कारण विभिन्न ठूला सडकखण्डहरुमासमेत समस्या भएको छ । नारायणगढ–मुग्लिङ सडकखण्ड हिजो साँझ २८ घण्टापछि खुले पनि सहज हुन सकेको छैन । 

महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा  बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्गसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन–चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना  रहेकोले  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ  भारी वर्षा, मेघ–गर्जन–चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ