arrow

हाफ म्याराथन दौडको उपाधि राममायालाई, बिन्दा उपविजेता  

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १६ शनिबार
apf-half-marathoon-2080.jpg

काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले हात पारेकी छिन् । उनले १ घण्टा २६ मिनेट ९ सेकेण्डमा २१ किलोमिटर दूरी पार गरी प्रथम भएकी हुन् । 

प्रधान कार्यालय हल्चोकको रंगशालाबाट शुरु भएको प्रतियोगिता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालयको उपस्थितिमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले उद्घाटन गरेकी थिइन् ।    

    प्रधान कार्यालयबाट शुरु भएको म्याराथन स्वयम्भू, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्डबाट सोही रुट फिर्ता हुँदै स्टार हस्पिटल सानेपा, बल्खु, कलङ्की, सीतापाईला, कारखानाचोक भई पुनः हल्चोक रंगशाला आएर समापन भएको थियो ।

प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लबकी राममाया बुढाले १ लाख रुपैयाँ, दोश्रो हुने नेपाल एपीएफ क्लबकी बिन्दाधन्के श्रेष्ठले १ घण्टा २७ मिनेट २७ सेकेण्डमा निर्धारित दूरी पार गरी ७५ हजार रुपैयाँ तथा तेस्रो हुने त्रिभुवन आर्मी क्लबकी पूर्णराज्यलक्ष्मी न्यौपानेले १ घण्टा २७ मिनेट ५० सेकेण्डमा पार गरी ५० हजार रुपैयाँ जितेका छन् । 

साथै चौथो हुने नेपाल एपीएफ क्लवकी आशा राउतले १ घण्टा ३२ मिनेट १८ सेकेण्डमा पार गरी २५ हजार रुपैयाँ र पाँचौँ हुने नेपाल पुलिस क्लबकी सुमित्रा चौधरीले १ घण्टा ३२ मिनेट २८ सेकेण्डमा पार गर्दै १५ हजार रुपैयाँ जितेकी छिन् । 

उपाधि हासिल गर्ने धावकहरुलाई यही असार १७ गते आइतबार वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ । छैटौँ देखि दशौं स्थान हासिल गरेका धावकहरुलाई भने आजै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 
    
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लव, नेपाल एपीएफ क्लबलगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु तथा देशैभरका महिला धावकहरु गरी कुल ४२ जना महिलाहरुको सहभागिता रहेको थियो ।   

 
    
                                             
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ