arrow

दिपेन्द्रको संयमित ब्याटिङले जित्यो नेपाल, यूएई तीन विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १७ आइतबार
cricket-nepal-2023-07-02.jpg

काठमाडौँ । दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनले नेपालले जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत प्लेअफ खेलमा यूएईलाई पराजित गरेको छ । सुपर सिक्समा पुग्न असफल टिमहरुबीचको प्लेअफ भिडन्तमा नेपालले यूएईलाई ३ विकेटले पराजित गरेको हो । 

१८२ रनको झिनो चुनौती लिएर मैदानमा उत्रिएको नेपालले १०६ रन जोड्दा ७ विकेट गुमाइसकेको थियो । 

तर दिपेन्द्र र सन्दीपबीच उत्कृष्ट साझेदारी भएसँगै नेपालले ४३.२ ओभरमै ७ विकेट गुमाएर जित हासिल गरेको हो । 

दिपेन्द्रले ८५ बलमा अविजित रहँदै ७९ तथा सन्दीपले ३७ बलमा अविजित रहँदै २३ रन बनाए । दुवैबीच आठौँ विकेटका लागि ७९ रनको अविजित साझेदारी भएको थियो । 

यसअघि ओपनर कुशल भुर्तेलले ५९ बलमा ३५ रन बनाएका थिए । करियरको उत्तरार्धमा रहेका ज्ञानेन्द्र मल्लले २२ बलमा जम्मा १३ रन बनाए ।  

यसअघि टस जितेर पहिले फिल्डिङ गरेको नेपालले यूएईलाई १८१ रनमा रोकेको थियो । नेपालले यूएईलाई ४६.५ ओभरमा अलआउट गरेको थियो ।

कप्तान वृत्य अरविन्दले सर्वाधिक ४४ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा करण केसी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । 

प्रतिस जीसी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए । 

यो प्लेअफ सातौँ स्थानका लागि प्लेअफ सेमिफाइनल खेल हो । अब नेपालले सातौँ स्थानको लागि आयरल्याण्डसँग फाइनल खेल्नेछ । पराजित यूएईले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

आयरल्याण्ड प्लेअफमा अमेरिकालाई ६ विकेटले हराउँदै सातौँ स्थानका लागि भएको खेलमा फाइनलमा पुगेको हो । 

नेपालले समूह चरणमा अमेरिकालाई पराजित गर्दा जिम्बाब्वे, वेष्ट इन्डिज र नेदरल्याण्ड्ससँग पराजय भोगेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ