arrow

नेपाल आठौँ स्थानमै, आयरल्याण्डसँग दुई विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १९ मंगलबार
cricket-nepal-ireland-2023-07-04a.jpg

काठमाडौँ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेटमा नेपाल आठौँ स्थानमा रहँदै खेल सकाएको छ । सातौँ स्थानका लागि भएको खेलमा नेपाल आयरल्याण्डसँग २ विकेटले पराजित भयो । 

हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा जितका लागि पाएको २६९ रनको चुनौती आयरल्याण्डले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो । 

शुरुआत राम्रो गर्न नसकेको आयरल्याण्डले ६० रन जोड्दा ३ विकेट गुमाएको थियो । तर त्यसपछि भने मध्यक्रमले धानेको थियो । यद्यपि अन्तिम ओभरसम्म खेल रोमाञ्चक बनेको भए पनि आयरल्याण्डले जित हासिल गर्यो । 

कर्टिस क्याम्फरले ६२ तथा ह्यारि टेक्टरले ६० रन बनाएको इनिङ्समा नेपालका लागि करण केसीले ४ तथा किशोर महतोले २ विकेट लिए पनि गुल्सन झा र सन्दीप लामिछानेले १–१ विकेट लिए । 

यसअघि टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २६८ रन बनायो । गुल्सन झा चम्केको इनिङ्समा नेपालले सम्मानजनक योगफल बटुलेको हो । गुल्सनले ४२ बलमा ३ छक्काको मद्धतले ५७ रन जोडे । 

त्यस्तै अर्जुन साउदले ८४ बलमा ४८, कुशल मल्लले ३८ बलमा ४४ तथा सन्दीप लामिछानेले ३० बलमा ३२ रन बनाए । 

आयरल्याण्डका लागि मार्क अदैर, बेरी म्याककार्थी र क्रेग यङ्गले २–२ विकेट लिए । 

दुवै टोली विश्वकपका लागि सुपर सिक्समा पुग्न नसकेपछि सातौँ स्थानका लागि भिडेका थिए । दुवै टोली पहिलो पटक आमने सामने भएका हुन् । नेपालले यो खेल जितेको भए पहिलो पटक एक दिवसीयमा टेष्ट मान्यता प्राप्त राष्ट्रलाई हराउने थियो । 

नेपालले सातौँ स्थानको लागि भएको प्लेअफ सेमिफाइनल खेलमा आइतबार यूएईलाई ३ विकेटले हराएको थियो । आयरल्याण्डले अमेरिकालाई हराएको थियो ।

यता, स्कटल्याण्डले जिम्बाब्वेलाई हराएको छ । यो हारले जिम्बाब्वे तेस्रो स्थानमा झरेको छ । अन्तिम खेलमा स्कटल्याण्ड विजयी भए स्कटल्याण्ड विश्वकपमा छानिँदा जिम्बाब्वे बाहिरिने छ । 

अहिलेसम्म १० टिममध्ये नेपाल, आयरल्याण्ड, अमेरिका र यूएई पहिलो चरणबाटै बाहिरिएका छन् । 

सुपर सिक्सबाट ओमान, वेष्ट इन्डिज र नेदरल्याण्ड्स बाहिरिएका छन् । श्रीलंका विश्वकपमा छानिइसकेको छ भने जिम्बाब्वे र स्कटल्याण्डमध्ये एक टिम छानिने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ