arrow

  बालकथा ‘गौरिकाको साहसिक यात्रा’ प्रकाशित

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
Gaurika Nepali Cover.jpeg

काठमाडौँ । प्रविधि वा उपकरणको अति प्रयोगले निम्त्याउने असरबारे लेखिएको बालकथा ‘गौरिकाको साहसिक यात्रा’ कथालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशनमा ल्याएको छ । 

यसको अंग्रेजी शीर्षक ‘Heroic Adventures of Gaurika’ छ । फारुक फुरकान सिकले लेखेको कथामा सुले फेयाज उजुनका चित्र छन् । टर्कीबाट प्रकाशित पुस्तकलाई नेपालीमा डा. विमलकुमार सुवेदीले सम्पादन गरेका हुन् भने यसका सम्पादक डा. रामप्रसाद ज्ञवाली हुन् । 

मोबाइल, ल्यापटप र टीभीको अधिक प्रयोगले परिवारमा कसरी संवादहीनताको अवस्था सिर्जना भएको छ भन्ने यथार्थ कथाले भनेको छ । यो हाम्रै घरसमाजको यथार्थ हो । 

प्रविधिको बढी निर्भरताका कारण परिवारमा एक्लोपन र बिरानोपनको अवस्था कसरी आइरहेको छ भनेर एक परिवारको दैनिकीलाई कथामार्फत प्रस्तुत गरिएको छ । 

गौरिका बुबाआमासँग बोल्न चाहन्छिन्, दाजुसँग खेल्न र रमाउन चाहन्छिन् तर मोबाइलमा अभ्यस्त दाजु, ल्यापटपमै झुन्डिइरहने आमा अनि सधैं टीभी हेरिरहने बुबासँग उनी दिक्क बन्छिन् । 

यस्तो अवस्था बदल्न उनी योजनामा लाग्छिन् । किताब पढाउने, संवाद गर्ने, रमाउने समय निकाल्न अनेक प्रयास गर्छिन् । यो प्रयासमा उनी कति सफल होलिन् ? के परिवारका अन्य सदस्यले गौरिकाको योजनामा समर्थन गर्लान् ? प्रविधिको लत छुटाउन उनी सफल होलिन् ? अनि फेरि यो परिवार पहिलेजस्तै रमाइलो बन्ला ? 

पुस्तकले प्रविधिलाई कुन हदसम्म प्रयोग गर्ने, समयको व्यस्थापन कसरी मिलाउने, परिवारलाई कतिबेला समय दिने जस्ता महत्वपूर्ण कुराको उठान गरेको छ । 

बालबालिका मात्रै होइन यो पुस्तक अभिभावकहरूका लागि पनि उत्तिकै महत्वपूर्ण छ । 

११ अध्यायमा लेखिएको कथामा सुरुमा गौरिकाको दिक्दारी, योजना, सपना र सफलतालाई प्रस्तुत गरिएको छ । ७१ पृष्ठको पुस्तकको मूल्य २ सय १० रुपैयाँ राखिएको छ ।
 



लोकप्रिय समाचार
नयाँ