- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेलामा पार्टी प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतको चर्को आलोचना भएको छ । आगामी आर्थिक वर्षको बजेटका बारेमा बोल्ने क्रममा जिल्ला सभापतिहरुले अर्थमन्त्रीले बजेटमा गरेको मनोमानीप्रति आक्रोश पोखेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बिहीबार बसेको जिल्ला सभापतिहरुको छलफलमा बोल्ने जिल्ला सभापतिहरुले आफ्नै दलका अर्थमन्त्री भए पनि आफूहरुको जिल्लालाई बेवास्ता गरिएको भन्दै गम्भीर आपत्ति जनाएको सहभागी एक जिल्ला सभापतिले भने ।
सहभागी अधिकांश जिल्ला सभापतिहरुले आगामी आर्थिक वर्षको बजेटमा आपत्ति जनाएका हुन् । अर्थमन्त्री महतले आफ्नो जिल्लालाई बढी ध्यान दिएको र केही तीन चार वटा जिल्लामा मात्रै पैसा खन्याए पनि अन्य जिल्लाहरुमा बेवास्ता गरेको भन्दै आक्रोश पोखेका हुन् ।
सो क्रममा युवा तथा खेलकुद मन्त्रीसमेत रहेका सांसद एवं मोरङका जिल्ला सभापति डिकबहादुर लिम्बूले अर्थमन्त्रीले गुट नमिलेका कारण बजेट कटाएको आरोप लगाए । उनले मन्त्रीहरुबीच नै समन्वय नभएको भन्दै बजेटमा ठूलो असन्तुष्टि रहेको सुनाएको सहभागी ती जिल्ला सभापतिले भने ।
उनले आफू मन्त्री हुँदा पनि जिल्लामा बजेट लैजान नसकेकोमा दुखेसो पोखेका हुन् । त्यस्तै धादिङ जिल्ला सभापति एवं सांसद रामनाथ अधिकारीले पनि जिल्लाले बजेट नपाएको भन्दै आफू कुन मुख लिएर जिल्ला जाने भन्दै दुःख व्यक्त गरेका थिए ।
उनले बजेट आएपछि जनतामा निराशा छाएको उल्लेख गर्दै भने, ‘ बजेटमा पक्षपात छ । ९० किलोमिटर बाटोको लागि बजेट ५ लाख विनियोजन भयो ।’
दोलखा जिल्ला सभापति बर्मा लामाले पनि बजेटमा स्वेच्छाचारी गरेको आरोप लगाए । अर्घाखाँची जिल्ला सभापति केशव श्रेष्ठले अर्थमन्त्रीले भेटसमेत नदिएकोमा गुनासो गरे । उनले भने, ‘पशुपतिको साँढे जस्तो भएर मन्त्री बसेका छन्।’
त्यस्तै अछामका जिल्ला सभापति पुष्पबहादुर शाहले पनि केन्द्र र प्रदेश दुवैतिर मन्त्रीहरुले बजेट एकलौटी गर्दा जिल्ला जाने अवस्था नभएको भन्दै आक्रोश पोखे ।
त्यस्तै बाजुरा जिल्ला सभापति रामसिंह रावलले पनि बजेटको विषयमा असन्तुष्टि जनाएका छन् । उनले कारबाही सिफारिसमा परेकालाई कि आममाफी दिनुपर्यो कि कारबाही गर्नुपर्यो भनी नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
केही जिल्ला सभपातिले पार्टीको स्थिति कमजोर हुँदै गइरहेको भन्दै सशक्तता दिन पनि माग गरेका छन् ।
बैठकमा पार्टी रुपान्तरणका कुरासमेत भएका छन् । महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले डाकेको बैठकमा रुपान्तरणको खाका के हो भनी सोधिएको थियो ।
काँग्रेस चलायमान नभएको भन्दै गगन थापाले नै यो बैठक बोलाएका हुन् । यो बैठक बस्ने भएसँगै काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुलाई बोलाएर आगामी २७ गते केन्द्रीय कार्यसमिति बैठक डाक्ने निर्णय गरेका छन् ।
पटक पटक बैठक डाक्नका लागि महामन्त्री थापाले आग्रह गर्दासमेत देउवाले बेवास्ता गरेपछि जिल्ला सभापतिहरुलाई छलफलमा डाकेका हुन् ।
उनले सभापतिहरुलाई जिल्लाको क्रियाशील सदस्यतादेखि नवीकरण र अभिलेखीकरणको सम्पूर्ण विवरण पेश गर्नसमेत पत्र काटेका थिए ।
महामन्त्रीद्धयको यो कदमले शान्त भएर बसिरहेको नेतृत्वलाई भने झक्झक्याएको छ । अहिलेकै शैलीमा जाने हो भने २०८४ मा पार्टीको अवस्था अझ खस्कने भन्दै गगनले जसरी पनि काँग्रेसलाई रुपान्तरण गरेरै छाड्ने दृढता व्यक्त गर्दै आएका छन् ।