arrow

जिम्बाब्वेमा नेपाली खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दियो – मोन्टि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
cricket-nepal-2023-07-22a.jpg

काठमाडौँ । जिम्बाब्वेमा भएको विश्वकप छनोट क्रिकेट खेल सकेर नेपाल स्वदेश फर्किएको छ । शुक्रबार बिहान नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टि देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताए । 

देसाईले लक्ष्य प्राप्ति नभए पनि केही खेलाडीहरूको प्रदर्शन सम्झनालायक रहेको उल्लेख गरे । भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुने लक्ष्यसहित जिम्बाब्वे पुगेको नेपाली क्रिकेट टोली दोस्रो चरण (सुपर सिक्स) मा नै स्थान बनाउन असफल रह्यो । 

सातौँ स्थानका लागि भएको अन्तिम खेलमा पनि नेपाल टेस्ट राष्ट्र आयरल्यान्डसँग साँघुरो अन्तरले पराजित हुन पुग्यो । छनोटमा आशा अनुरूपको नतिजा नआए पनि टेस्ट खेल्ने राष्ट्रविरुद्ध खेल्दा धेरै कुरा सिक्ने अवसर मिलेको नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलको भनाइ छ । 

खेल अगाडि टेस्ट राष्ट्र जिम्बाब्वे र वेस्ट इण्डिजले कस्तो बलिङ र ब्याटिङ गर्छ भन्ने चासो रहे पनि उनीहरू र आफूहरूबीच अनुभवको मात्र फरक रहेको कप्तान पौडेलको बुझाइ छ । 

नेदरल्याण्ड्स विश्वकप छनोट हुनुले नेपाल जस्तो एसोसिएट राष्ट्रलाई हामी पनि गर्न सक्छौँ भन्ने प्रोत्साहन मिलेको उनले बताए । 

नेपालका युवा अलराउण्डर गुलसन झाले टेस्ट राष्ट्र र आफूहरूबीच खासै फरक नरहेको उल्लेख गरे । यद्यपि उनीहरूको खेल शैली केही अनुशासित र अनुभवी रहेको उनको भनाइ छ । उनीहरूसँगको खेलपछि धेरै कुरा सिक्ने अवसर मिलेको गुलसनको विश्वास छ ।

विश्वकप छनोटका लागि जिम्बाब्वे पुगेको नेपाली टोलीले कुल ६ खेल खेल्दा दुई नतिजा मात्र आफ्नो पक्षमा पारेको थियो । 

तीन वटा टेस्ट राष्ट्र जिम्बाब्वे, वेस्ट इण्डिज र आयरल्याण्डसँग नतिजा सुम्पिएको नेपालले विश्वकपमा छनोट भएको एक मात्र एसोसिएट राष्ट्र नेदरल्याण्डसँग पनि हार ब्यहोरेको थियो । बाँकी दुई वटा एसोसिएट राष्ट्र संयुक्त अरब इमिरेट् (यूएई) र अमेरिकासँग भने नेपालले जित निकाल्यो । 

नेपाल केही दिन आराम गरेपछि एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका जानेछ । एसिया कपमा नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’ सँग खेल्नेछ । 

जुलाई १४ मा पाकिस्तान विरुद्धको खेलसँगै नेपालले एसिया कपको यात्रा थाल्नेछ । यद्यपि उक्त खेलमा नेपाली टोलीका महत्वपूर्ण बलर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी अनुपस्थित रहने कप्तान रोहित पौडेलले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ