arrow

एक वर्षपछि बैठकमा काँग्रेस

काँग्रेस केन्द्रीय समिति बैठकको ठूलो एजेन्डा नै ‘बैठक’

एजेन्डा छलफलको केही समयअघि मात्रै तय, बिहान ९ बजे एजेन्डा तय गर्ने बैठक, दिउँसो १ बजे केन्द्रीय समिति बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
congress-nc-party-office-hq.jpg

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपीनगरमा बस्ने कार्यबाहक मूख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । 

बैठकका लागि गत असार २१ गते बिहीबार सूचना गरी सबै कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेको थियो । 

तर उक्त अनुरोधमा कुनै एजेन्डा दिइएको छैन । एजेन्डाका बारेमा बुधबार बिहान बैठक बसेर तय गरिने पराजुलीले बताए । 

उनले बुधबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बराहीमा बैठक बसी एजेन्डा तय गरिने बताएका हुन् । 

उनका अनुसार बैठकमा पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु बसेर एजेन्डाको टुंगो लाग्नेछ । 

अचम्म त के भने ठ्याक्कै एक वर्षपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । गत वर्ष पनि असार २७ गते नै बैठक बसेको थियो । 

सबैभन्दा ठूलो एजेन्डा नै बैठक
कांग्रेसको बैठक नियमित हुन नसकिरहेका बेलामा बैठक बस्नु नै ठूलो एजेन्डा रहेको नेताहरु बताउँछन् । एजेन्डा के छन् भन्ने सम्बन्धमा एक पदाधिकारीलाई सोधिएको प्रश्नमा उनको जवाफ थियो, ‘बस्न नसकेको बैठक बस्नु नै ठूलो एजेन्डा हो ।’

हुन पनि एक वर्षदेखि बैठक बस्न नसक्नु सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको सबैभन्दा ठूलो भुल हो । यस अर्थमा बैठक बस्नुलाई सार्थक रुपमा हेरिनु पर्छ । 

सभापति निकटका एक केन्द्रीय सदस्य भने पार्टीलाई चाहिने छलफल भए पनि सबैले अवसर पाउने गरी हुन लागेको यो एक वर्षको ठूलो बैठक भएको बताउँछन् । 

आम निर्वाचन केन्द्रीत बैठक हुँदै आए पनि पार्टी सुदृढीकरण र सशक्तिकरणको योजनाका लागि भने केन्द्रीय समिति बैठक बस्न नसकेको हो । 

त्यतिमात्र होइन केन्द्रीय सदस्यहरु जिम्मेवारीविहीन रहेका छन् । उनीहरुलाई जिम्मेवारी दिने मामलामासमेत नेतृत्व चुकेको छ । 

संस्थापन इतरका नेताहरुले पटक पटक केन्द्रीय समिति बैठक माग गर्दै आएको भए पनि सभापति देउवाले यसलाई बेवास्ता गर्दै आएका थिए । 

तर अहिलेसम्म बैठक डाकिसकेपछि संस्थापन इतर पक्षले छलफल गरी बुधबारका लागि एजेन्डा भने तय गरेका छैनन् । 

कसरी सम्भव भयो अहिलेको बैठक ? 
एक वर्षसम्म नसकेको बैठक अहिले पनि बस्नका लागि मरिहत्ते गर्नुपर्ने त्यस्तो केही पनि थिएन । अहिलेसम्म नबसेको बैठक अहिले नै बस्नुपर्ने कारणका पछाडि सभापति देउवाले महसुस गरेको दबाब नै हो । 

उनी एकाएक दबाबमा आएको महसुस गर्दै बैठक डाकेका हुन् । खासमा गत असार १८ गते २१ र २२ गतेका लागि जिल्ला सभापतिहरुसँगको छलफल गर्ने भनी महामन्त्री गगनकुमार थापाले पत्र काटे । लामो समय बैठकमा सहभागी हुन नपाएका सभापतिहरु पक्कै तरङ्ग ल्याउने आशामा उनीहरु सहभागी भए । 

महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले डाकेको उक्त बैठकमा सहभागी जिल्ला सभापतिहरुलाई जिल्लाका क्रियाशील सदस्यहरुको अवस्था, पार्टी सदस्यता, जिल्ला समितिमा देखिएका विवाद र समस्या लगायतको मागसमेत गरिएको थियो । 

यही बीचमा जिल्ला सभापतिहरुसँगको बैठक बस्नुअघि नै सभापति देउवा निवासमा पदाधिकारीहरुको बैठक बसेर केन्द्रीय समितिको बैठक डाकियो । 

जिल्ला सभापतिहरुसँगको बैठक डाक्नु नै केन्द्रीय समिति बैठक डाक्नका लागि दबाब भएको महसुस देउवाले गरेका हुन सक्छन् । 

हुन पनि जिल्ला सभापतिहरुको बैठकमा जिल्ला सभापतिहरुले नेतृत्वको चर्को आलोचना गरे । 

त्यस्तै सरकारमा गएका मन्त्रीहरुको कामलाई लिएर पनि आलोचना भयो । त्यतिमात्र हैन अर्थमन्त्री डा. प्रकाशशरण महतको झनै चर्को आलोचना भयो । 

जिल्ला सभापतिहरुले आफ्नो क्षेत्रमा जानसमेत लाज भएको दुखेसो पोखे । हुन पनि आगामी आर्थिक वर्षको बजेट सीमित चार जिल्लामा मात्र खन्याएर बाँकी रहेका जिल्लामा ‘पत्रम् पुष्पम’ जस्तै बजेट कनिका छरिएझैँ छरिएको छ । 

उक्त बैठकले १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै बैठक सकिएको थियो । यही बैठकको आयोजना नै केन्द्रीय समिति बैठक बस्नुपर्ने वाध्यता भएको राजनीतिक विश्लेषकहरुको पनि बुझाइ रहेको छ । 



नयाँ