arrow

प्रतिकुल मौसममा सुधार हुन अझै केही दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
weather-evergreen-rain.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहनाका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि पूर्ण बदली रहनाका साथै सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी केही दिनसम्म बदली र वर्षाको सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना छ । मधेस प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

मौसमविद् मानन्धरका अनुसार पश्चिमी वायुको प्रभाव कायमै रहेको र न्यून चापीय रेखा नेपाल नजिक भएकाले अबका केही दिन वर्षाको सम्भावना छ । “देशभर मनसुनी वायुको प्रभाव रहेको छ, त्यस्तै न्यूनचापीय रेखा अहिले देशको पूर्वी भाग नजिक रहेकाले त्यसको अलि बढी असर देखिएको छ, न्यून चापीय रेखा जतातिर नजिक छ त्यहाँ बदली र वर्षा बढी हुन्छ, तुलनात्मक रुपमा पूर्वमा भन्दा पश्चिमतिर न्यूनचापीय रेखा दूरी बढी रहेकाले पूर्व क्षेत्रमा बढी वर्षाको सम्भावना देखिन्छ ।”

प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा मुलुकको आन्तरिक उडानमा समेत सामान्य प्रभाव परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

मौसम खराबीले आज बिहान सोलुखुम्बुमा दुर्घटनाग्रस्त हेलिकप्टरको खोजीमासमेत कठिनाइ भएको थियो । 

मनसुनी वर्षाले यातायात तथा हवाई उडान, पर्यटन कृषिलगायत क्षेत्रमा असर पर्नसक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै सडक दुर्घटना पनि थुप्रै भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ