- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि बस्दैछ । एक वर्षपछि पहिलो पटक उही मितिमै बस्न लागेको बैठक आफैँमा अहम् देखिएको छ ।
बैठकका एजेन्डाहरु विभिन्न भए पनि तीभन्दा पनि एक वर्षमा हुन लागेको बैठक नै सबैभन्दा ठूलो एजेन्डा भएको भन्दै केन्द्रीय सदस्यहरु बैठकमा सहभागी हुन आतुर देखिएका छन् ।
हुनत काँग्रेसको विधानमा प्रत्येक दुई महिनामा केन्द्रीय कार्यसमिति बैठक बस्ने उल्लेख छ । तर आम निर्वाचनसँगै सत्ताको संघर्षका कारण बैठक बस्न सकेको छैन । जसका कारण केन्द्रीय सदस्यहरु जिम्मेवारीविहीन छन् ।
सभापति शेरबहादुर देउवाले विधानको मर्ममाथि प्रहार गर्दासमेत संस्थापन इतर समूहले केही गर्न सक्ने अवस्था रहेन । पटकपटक संस्थापन इतरका नेताहरुले केन्द्रीय समिति बैठक डाक्न आग्रह गरेका भए पनि त्यसलाई देउवाले प्राथमिकता दिएनन् ।
यसपालि भने महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुको भेला डाकेपछि भने सभापति देउवा केन्द्रीय कार्यसमिति बैठक डाक्न वाध्य भएका हुन् ।
सामान्यतया आजको बैठकका मुख्य एजेन्डा तय भइसकेका भए पनि त्यसलाई अहिले बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर अन्तिम रूप दिइनेछ ।
एजेन्डामा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँडका बारेमा भने मौन रहेको स्रोतले बताएको छ । उनलाई निलम्बन गर्नुपर्ने पक्षमा सभापति देउवा छैनन् ।
संस्थापन इतरका नेताहरुले भने पक्राउ परेदेखि नै निलम्बन गर्न आग्रह गर्दै आएका थिए । निलम्बन नगर्दा पार्टीले भ्रष्टाचारलाई सघाएको हुने धारणा राख्दै कारबाही गर्न माग गरिएको थियो । यद्यपि भ्रष्टाचारका विषयमा र सरकारमा गएका मन्त्रीहरुको प्रस्तुतिका बारेमा केन्द्रीय समिति बैठकमा ब्यापक चर्चा हुने नेताहरुले बताएका छन् ।
संसद नभएका बेलामा केन्द्रीय समिति, आक्रामक प्रस्तुति
एक वर्षको अवधिमा ६ पटक बैठक बसिसक्नु पर्नेमा पहिलो पटक बैठक बस्दै गर्दा पनि नेताहरु उत्साही देखिएका छन् । एक केन्द्रीय सदस्यले भने, ‘हुनत सभापतिज्यूले विधान चपाइसक्नु भयो तैपनि नहुनु भन्दा यही पनि ठिकै छ भन्ने मनस्थितिमा पुग्यौँ । । तर यसपािल जमेर कुरा राख्ने हो ।’
प्रतिनिधि सभाको बैठक नभइरहेको बेलामा नेताहरुले खुलेर विचार राख्ने बताइरहेका छन् । प्रतिनिधि सभा बैठक शुक्रबार मात्रै बस्दैछ । त्यसैले पनि आज र भोलि अलि बढी समय हुने महसुस गर्दै नेताहरुले खुलेर विचार राख्ने बताइरहेका हुन् ।
यद्यपि प्रत्येक सदस्यलाई ५ देखि ७ मिनेटको बोल्ने समय दिने तयारी भइरहेको प्रचार विभागले जनाएको छ । एक वर्षको अवधिमा नदीमा धेरै पानी बगेको भन्दै केन्द्रीय सदस्यहरुले पाँच मिनेटमा आफ्नो सकाउन नै मुस्किल हुनेसमेत बताएका छन् ।
तर यो समय पाउनु पनि ठूलै कुरा भएको छ । किनकि काँग्रेसले अहिलेसम्म प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको परिणामबारेसमेत छलफल गरेको छैन । त्यस्तै पार्टीको नीति महाधिवेशनको विषयमा पनि छलफल गर्नुपर्नेछ ।
अझ गत असार असार २१ र २२ गते बसेको जिल्ला सभापतिहरूको भेलाले उब्जाएका १४ बुँदे सहमतिलाई यो बैठकले सम्बोधन गर्नुपर्नेछ । त्यो बैठकमा सरकारकोसमेत चर्को आलोचना भएको थियो ।
बजेटमा सबैजसो जिल्ला सभापतिहरु निराश थिए । स्वयं मन्त्रीहरुसमेत पनि निराश देखिन्थे । यसपालिको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतलेसमेत चर्को आलोचना खेप्नुपर्ने देखिन्छ ।
२०७८ साल मंसिर अन्तिम साता भएको पार्टीको १४ औँ महाधिवेशनले सभापति देउवालाई दोस्रो पटक सभापतिमा चयन गरेको थियो । तर दुर्भाग्य अहिलेसम्म देउवाले केन्द्रीय कार्यसमितिलाईसमेत पूर्णता दिएका छैनन् ।
१६७ सदस्यीय समिति हुनुपर्नेमा अझै १० जना मनोनित गर्न बाँकी नै छ । त्यतिमात्र हेन भ्रातृ तथा भगिनी संस्थाहरुको अधिवेशनसमेत हुन सकेको छैन । देउवाले कामचलाउ शैलीमै यी संस्थाहरुलाई अगाडि बढाउँदा नेताहरुको वृत्तिविकास हुन सकेको छैन ।
तरुणदलबाटसमेत रिटायर्ड भएर काँग्रेस हुने बेलामा अझै केही नेताहरु नेपाल विद्यार्थी संघमै रहनु पक्कै दुभाग्य भएको छ ।
त्यस्तै महाधिवेशनका बेलामा मात्रै खोजिने क्रियाशील सदस्यताको गलत परिपाटीलाई तोड्नु कांग्रेसको यो बैठकको ठूलो एजेन्डा हुन सक्छ । कागजमा काँग्रेसका यति क्रियाशील सदस्य भन्ने तर सोही अनुसार निर्वाचनमा कुनै कुनै क्षेत्रमा पार्टीलाई मत नआइदिनुले केबल कागजमा मात्रै क्रियाशील सदस्यता सीमित गर्न खोजिएको त हैन भन्ने प्रश्न पनि गम्भीर भएर उठेको छ ।
कांँग्रेसको देशब्यापी अभियान सुस्ताएको भन्दै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिएर खटाउनेतर्फसमेत गम्भीर छलफल हुने विश्वास गरिएको छ ।
पार्टी मुख्यालय वीपीनगर सानेपामा दिउँसोदेखि हुने बैठक एक सातासम्म चल्ने अनुमान गरिएको छ ।