arrow

सुशासनका लागि दल र सञ्चार जगतबीच सहकार्य हुनुपर्छ : पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
pradip poudel rss.jpg

काठमाडौं । प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । 

राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा आज आयोजित नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाको चौथो अधिवेशनमा उनले राजनीतिक दलसँगै पत्रकारिता क्षेत्रले सुशासन कायम गर्न सहकार्य गर्नुपर्ने बताए । 

“कुनै पनि सन्र्दभमा भ्रष्टाचार स्वीकार्य हँुदैन । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति निर्माण गर्न नसकेसम्म सुशासन कायम गर्न सकिँदैन”, उनले भने, “त्यसैले सुशासन कायम गर्ने सन्र्दभमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ ।”

नागरिकको समस्या र आवश्यकताका विषय आम सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले अधिवेशनबाट आउने नयाँ नेतृत्वलाई राजनीतिक निकटताभन्दा पनि वर्गीय हितमा केन्द्रित रहन सुझाव दिए । 

कार्यक्रम राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले कर्मचारीको क्षमता अभिवृद्धिमा आफूले विशेष ध्यान दिएको बताए ।

“राससलाई २१औँ शताब्दी सुहाउँदो र प्रतिस्पर्धी समाचार एजेन्सी बनाउने काम गरिरहेका छौँ । पछिल्लो समय बहुभाषामा समाचार सम्प्रेषण गर्ने तयारी भइरेको छौँ”, उनले भने ।  

राससका महाप्रबन्धक सिद्धराज राईले राससले पछिल्लो समय कर्मचारीको वृद्धिविकास र संस्थाको हितमा राम्रा काम अघि बढाएको बताए ।

राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले संस्थाले सरकारबाट जति अनुदान प्राप्त गरिरहेको छ, त्यसको तुलनामा कर्तव्य र जिम्मेवारी अब्बल ढङ्गले पूरा गरिरहेको बताए । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नागिरक अभिव्यक्तिलाई प्राथमिकता दिन सुझाव दिए ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारको सीप र क्षमता अभिवृद्धिमा जोड दिए ।

युनियन राससका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद मिश्रले प्रेस स्वतन्त्रता, विधिको शासन र श्रमजीवि पत्रकारको हकहितका लागि प्रेस युनियनले स्थापना कालदेखि निरन्तर काम गरिरहेको बताए । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईं, प्रेस चौतारी रासस शाखाका पूर्वअध्यक्ष कालिका खड्का र प्रेस सेन्टर नेपाल रासस शाखाका अध्यक्ष रत्नकृष्ण श्रेष्ठले पत्रकारिता क्षेत्रका साझा चुनौतिलाई उठान गर्दै समाधानका लागि सबै संस्था एक हुनुपर्नेमा जोड दिए ।



नयाँ