- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारतको ए टिमलाई १६८ रनको चुनौती दिएको छ ।
श्रीलंकाको आर प्रेमदासा रंगशालामा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गरेसँगै नेपालले ३९.२ ओभरमा अलआउट हुँदै १६७ रनमात्रै बनायो ।
कप्तान रोहितले कप्तानी इनिङ्स खेले पनि टिमलाई उच्च स्कोरतर्फ लैजान सकेनन् । रोहितले ८५ बलमा ७ चौकाको मद्धतले ६५ रन बनाए ।
त्यस्तै गुल्सन झाले ३० बलमा ३८ रन बनाए । देव खनालले १५ तथा सोमपाल कामीले १४ रन बनाए । बाँकी ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् ।
३७ रन जोड्दा चार विकेट गुमाइसकेको नेपाललाई रोहित र गुल्सनले केही सम्हाल्ने प्रयास गरेका थिए ।
भारतका लागि निशानत सिन्धूले ४ तथा राजवर्दन ह्याङ्गरगेकरले ३ विकेट लिए ।
नेपाललाई सेमिफाइनलको सम्भावना कायमै राख्न यस खेल जित्नै पर्ने हुन्छ । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो ।
त्यस्तै भारतले यूएई ए लाई ८ विकेटले हराएको थियो ।
गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेष्ट राष्ट्र भारत स्वतः छनोट भएको हो ।
नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार यूएई ए सँग खेल्नेछ ।
यस प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् ।
अर्को समूहमा अफगानिस्तान, श्रीलंका, बंगलादेश र ओमान रहेका छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ । फाइनल खेल २३ जुलाईमा हुनेछ ।