arrow

बस्दै काँग्रेस केन्द्रीय समिति बैठक, दश एजेन्डा तय, खाँडका विषयमा मौन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
congress-nc-party-office-hq.jpg

काठमाडौँ । नेपाली काँग्रेसले मंगलबार बस्ने केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पहिलो एजेन्डाको रूपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुने बताए । 

त्यसैगरी साङ्गठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उनले जानकारी दिए । उनले कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेस र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने उल्लेख गरे ।

केन्द्रीय समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेस गर्ने एजेन्डा पनि रहेको छ । 

अरू एजेन्डाहरूमा पार्टीले प्रतिनिधि सभामा खेलेको भूमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरूको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।

केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको महामन्त्री शर्माले बताए । 

कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा बस्ने गरी बोलाइएको छ ।

गत वर्षको असार २७ गते बैठक बसेपछि अहिलेसम्म केन्द्रीय समिति बैठक बसेको छैन । 

यो बैठकका मुख्य एजेन्डाहरु यी भए पनि चर्चा भने धेरै विषयमा हुन सक्ने देखिएको छ । विशेष गरी भ्रष्टाचारको विषयलाई लिएर चर्को बहस हुने अनुमान गरिएको छ । 

सभापति देउवा यो विषयमा पनि केन्द्रित भएर छलफल गर्न तयार रहेको संकेत गरेका छन् । नक्कली शरणार्थी प्रकरणलगायत सम्पूर्ण विषयमा केन्द्रित रहेर छलफल गर्न उनी तयार भएका हुन् । 

एक पदाधिकारीका अनुसार पार्टी बैठकमा उनी खुला भएर सबै विषयमा छलफल गर्न तयार भएका हुन् । 

तर उनले नक्कली भुटानी शरणार्थाी प्रकरणमा मुछिएका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडका विषयमा छलफल गर्न तयार नभएको पाइएको छ । 

र पनि देउवालाई भने दबाब छ । खाँड देउवाका खम्बा हुन् । 

अझ एउटै काण्डमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टीले कारबाही गरेपछि खाँडलाई पनि कारबाही गर्नुपर्ने आवाज शुरुआतदेखि नै नआएको होइन । 

तर त्यतिबेला पार्टी नेतृत्वले चासो देखाएन । मुद्दा पर्दैमा हामीले किन कारबाही गर्ने ? भन्नेतिर नेतृत्व लाग्यो । तर जिल्ला अदालतले दोषी नै ठानेर जेल पठाएपछि त खाँडलाई कारबाही गर्नुको विकल्प नेतृत्वसँग थिएन । 

यद्यपि आजको मितिसम्म खाँडमाथि कुनै कारबाही भएको छैन । संस्थापनले खाँडलाई बचाउनु पर्छ भन्नेतिर लागेको र संस्थापन इतरले कारबाही नै गर्नुपर्छ भन्नेतिर लागेको पाइएको छ । 

किन देउवा बचाउन चाहन्छन् खाँडलाई ? 
जब नक्कली भुटानी शरणार्थी प्रकरणमा जब खाँड पक्राउ परे शुरुआती चरणमा सभापति शेरबहादुर देउवाले बेवास्ता गरेकै हुन् । उनीसँग नजिक हुँदा आफ्नै पत्नी आरजू देउवा राणा पनि तानिने हुन् कि भन्ने चिन्ता देउवामा आएको बुझ्न सकिन्छ । 

आरजू पनि मुछिन सक्ने सम्भावना रहेको सुरक्षा स्रोतको भनाइलाई मान्ने हो भने उनी शंकाको घेरामा छिन् । तर आरजूले आफू यो घटनामा संलग्न नभएको र आफूलाई फसाउन विभिन्न गिरोह लागेको आरोपसमेत लगाएर स्पष्ट पारिसकेकी छिन् । की छिन् । 

उनी जोडिएको प्रसङ्गको अडियो सार्वजनिक भए पनि उनले सोही अडियोको विषयलाई लिएर प्रहरीलाई अनुसन्धान गर्न जिम्मा दिएकी छिन् । उनले नै पहिले उजुरी हालेकी थिइन् । 

आफू यो घटनाबाट टाढा रहेको देखाउन आरजूले केही संचारमाध्यमको प्रयोग गरेर अन्तर्वार्ता दिइन् । खाँड र खाँड पत्नी मञ्जुको नामसमेत जोडिएपछि आरजूले मिडियामा आफ्नो लामो समयदेखि सम्बन्ध नभएकोसमेत बताइन् । 

त्यतिमात्र होइन उनले आफू यस्ता कुनै पनि घटनामा सामेल नभएको भन्दै आफ्नो छोराको कसमसमेत खाइन् । आमाका लागि छोराभन्दा प्यारो के होला ? 

तर राजनीतिक अन्य घटनाक्रम र महत्वपूर्ण विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली छलफलमा जुट्दासमेत देउवाले आरजूलाई नमुछ्न र ओलीले साला एवं मुख्य स्वकीय सचिव राजेश बज्राचार्यलाई नछुन आग्रह गरेको आरोप अहिलेसम्म आइरहेको छ । यद्यपि यसको खाँटी कुरा भने बाहिरिएको छैन । 

तर पछिल्लो समय देउवा खाँडलाई बचाउनतर्फ लागेको देउवा निकट स्रोत बताउँछ । अहिले जताततैबाट घेराबन्दी भइरहँदा देउवाले यदि खाँडलाई नबचाउने हो भने भोलिका दिनमा अप्ठेरो पर्न सक्ने भन्दै उनलाई बचाउन संस्थापन नै लागेको बुझिन्छ । 
 



नयाँ