arrow

वर्ष दिनमा जुरेको काँग्रेस बैठक त्यो पनि मलमासमा

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०८० साउन २ मंगलबार
congress-malamas.jpg

काठमाडौँ । नेपालीमा केही उखानहरु चर्चित छन् । तर ती उखान चर्चित हुँदाहुँदै पनि उदाहरणका रुपमा प्रस्तुत गर्न उपयुक्त हुँदैन । जस्तो कि ‘गाई त आइन् तर...’, ‘बाह्र वर्षमा .....आएको म.....ज्वरो...आएको’, बाह्र वर्ष...पुच्छर......बाङ्गाको बाङ्गै ।’

यी उखानहरु विशेष गरी कुनै महत्वपूर्ण अवसर र क्षण आउनु त्यो क्षण पनि अनुपयुक्त समयमा भएको देखिनुमा प्रयोग हुन्छन् । ढिलै हुँदा पनि त्यसको अवस्था फितलो रुपमा देखिनुमा यसलाई लिइन्छ । 

पछिल्लो समयमा जनजिब्रोमा आउने गर्छ नि ‘ढिलो आयो कडा आयो’ । त्यस्तै हुँदा दमदार देखिन्छ र रुची पनि उत्तिकै बढ्छ जीवनमा भन्ने गरिन्छ । तर ढिलो भएर कुनै घटना हुँदा पनि त्यसले सार्थकता प्रदान गर्ला कि नगर्ला वा हुनु पनि कस्तो समयमा ? जस्ता जिज्ञासा आए भने त्यसको सार्थकता आधा त कुनै काम शुरु हुनुअघि नै औचित्यभन्दा टाढा पुग्छ । 

मलमास
आजदेखि मलमास शुरु भएको छ । चलन चल्तीमा रहेको हिन्दू पञ्चाङ्गअनुसार महिनाहरू दुई किसिमका हुन्छन् जसलाई मास भनिन्छ । सूर्यको गतिअनुसार गणना गरिने बैशाखदेखि चैतसम्मका बाह्र महिनाहरू सौर्यमास हुन् । यी बाह्र महिनाको एक वर्षमा ३६५ दिन हुन्छन् । चन्द्रमाको गतिअनुसार गणना गरिने महिनाहरु पनि बाह्र वटा नै हुन्छन् । 

यी महिनाहरू चन्द्रमाको गतिअनुसार तिथि बमोजिम गणना गरिन्छ । चन्द्रमासको एक महिनामा दुई पक्ष हुन्छन्, कृष्ण पक्षमा प्रतिपदादेखि औंशीसम्म पन्ध्र र शुक्ल पक्षमा प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र तिथिहरू हुन्छन् । चन्द्रमासमा तिथिहरू घटी बढी हुने भएकाले एक वर्षमा ३५४ दिनमात्र हुन्छन् । प्रत्येक वर्षमा चन्द्र वर्ष सौर्य वर्ष भन्दा एघार दिन घटी हुन्छ ।

हामीले मनाउने अधिकांश चाडपर्व र श्राध्द तिथिअनुसार मनाइने हुँदा हरेक वर्ष   सौर्यमासमा फरक फरक दिनमा परेका हुन्छन् । हाम्रो धर्मशास्त्रअनुसार ३० महिनादेखि तीन वर्षभित्र चन्द्रमासमा एक महिना थपिन आउँछ । यसलाई अधिकमास भनिन्छ । 

एक चन्द्रमास भित्र कुनै सूर्य संक्रान्ति नपर्दा र एक सौर्य महिनामा दुई वटा औंशी परेको अवस्थामा चन्द्रमास अधिकमास हुन्छ । यस वर्ष साउन १ गते औंशी परेकाले साउन २ गतेदेखि ३१ गतेसम्म अधिक श्रावण कृष्ण पक्ष र अधिक श्रावण शुक्ल पक्ष परेकाले यो चन्द्रमास अधिकमास भएको छ । 

सौर्यमासअनुसार एक वर्षमा ३६५ दिन हुने तर चन्द्रमास अनुसार ३५४ दिन हुने हुँदा हरेक तीन वर्ष भित्रमा अधिकमास थप हुँदा चन्द्रमासलाई सौर्यमाससँग मिलान गरेको देखिन्छ ।
          
अधिकमासलाई चलन चल्तीमा मालमास भन्ने गरेको पाइन्छ । अधिकमास बाहेकका अन्य १२ महिनाहरूका कुनै न कुनै देवताहरू स्वामी भएकाले ती महिनाहरू शुध्द मानिएका छन् । 

तर अधिकमासको कुनै देवता स्वामी नभएका कारण यो महिना अशुध्द भई मलिन महिना हुँदा मलमास हुन गएको रहेछ । यस महिनालाई मलमास, अधिकमास र पुरुषोत्तममास भनिन्छ । मलमास कसरी पुरुषोत्तममास भयो भन्ने बारेमा कथा यस प्रकार रहेको छ ।

मलमास स्वामीविहीन महिना भएको कारण यसलाई सबैले घृणा गर्दा दुःखी भई यसबाट मुक्त हुन सकिन्छ कि भनी उपायको लागि मलमास नारदजीकहाँ गइ आफ्नो दुःखको सबै बेलिविस्तार गर्दा नारदजीलाई मलमासप्रति दया लागेर उसलाई विष्णु भगवान् कहाँ लिइ जानु भयो । मलमासले विष्णु भगवानसँग आफ्नो दुःखको सबै कुरा बताउँदा विष्णुले नारदलाई मलमासलाई लिएर गोलोकमा रहेका श्रीकृष्ण भगवानसँग जाउ वहाँले मलमासको उद्धार गर्नु हुनेछ भन्ने आज्ञा पाए पछि नारदजीले मलमासलाई गोलोकमा रहेका श्रीकृष्ण भगवानकहाँ लिइ जानुभयो । 

गोलोकमा पुगेर मलमासले आफ्नो दुःखका सबैकुरा भन्दा कृष्ण भगवानले मलमासलाई भन्नुभयो – तिमीले अब चिन्ता मान्नु पर्दैन । अबदेखि तिम्रो स्वामी म हुनेछु र तिम्रो नाम पुरुषोत्तम महिना हुनेछ । पुरुषोत्तम महिनामा जसले स्नान, जप, ध्यान, पुरुषोत्तममास महात्म्य श्रवण गरी दान गर्ला त्यसले अन्य महिनामा गरेको भन्दा कैयौँ गुणा बढी पुण्य प्राप्त गर्नेछ भनी भगवानले भन्नुभयो । 

आफ्नो स्वामी स्वयं श्रीकृष्ण भगवान हुनुभएको र पुरुषोत्तममास भएकोमा खुशी हुँदै नारदसँगै मलमास फर्कियो । त्यहाँ उपरान्त मलमासको नाम पुरुषोत्तममास भएको हो ।

पुरुषोत्तममासमा जसले गंगामा नदी तलाउमा गई स्नान गरी जप, ध्यान, ब्रत दान, पुरुषोत्तममास श्रवण, श्रीमद्भगवत गीता पाठ गर्दछ त्यसले श्रीकृष्ण भगवान् रहनु हुने गोकोल प्राप्त गर्ने मान्यताअनुसार भक्तजनहरू पुरुषोत्तममासमा गंगाजीमा, नदी, तलाउमा गई स्नान गरी जप, ध्यान, ब्रत, पुरुषोत्तममास श्रवण श्रीमद्भगवत गीता पाठ गरी दान गर्ने गर्दछन् । 

यस मासमा काठमाडौँमा श्री बूढानीलकण्ठ र मच्छेगाउँमा रहेको मच्छेनारायण मन्दिरमा महिनाभरी भक्तजनहरूले भगवानको दर्शन पूजा गर्दछन् । 

पुरुषोत्तममासमा भगवान् विष्णुका ३३ नाम स्मरण गरी अपुप मालपुवा दान गरेमा पूण्य मिल्दछ भन्ने शास्त्रीय वचन रहेको छ । यसै महिनामा गर्नै पर्ने नित्यकर्महरू गर्न हुने हाम्रा धर्मशास्त्रमा उल्लेख भएको छ ।

गुरु शुक्र अस्तमा जस्तै अधिकमासमा पनि गर्न नहुने कामः बगैँचाको निर्माण, जलाशयको निर्माण, गृह निर्माण आरम्भ, गृह प्रवेश, चान्द्रायणादि ब्रतारम्भ, उद्यापन, तुलादान, महादान, सोमयाग, अष्टकाश्राध्द, आग्रायणेष्टि, प्रथम उपाकर्म, उपनिषदव्रत, वेदव्रत, काम्य, बृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षाग्रहण, व्रतबन्ध, विवाह, कहिले नगरेको देवताको दर्शन, नगएको तीर्थयात्रा, अग्निहोत्र, चतुर्मास्ययाग, समावर्तन, दीव्यपरीक्षा, एकाह, सप्ताह, नवाह आदि पुराण लगाउन मन्दिर निर्माण आरम्भ, देवता स्थापना, प्राणप्रतिष्ठा आदि अन्य दिनमा पनि गर्न मिल्ने काम्यकर्महरु आदि भनी श्री पुरुषोत्तममास महात्म्य निर्णय सिन्धुमा उल्लेख छ । 

काँग्रेस बैठक
मलमाससँग नेपाली काँग्रेसको बैठकसँग कुनै लेनदेन छैन । मलमासको आफ्नै प्रक्रिया छ । काँग्रेस बैठकको आफ्नै कार्यक्रम छ । 

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक वर्ष एक सातापछि बस्दैछ । हुनत यो बैठक हरेक दुई महिनामा बस्नुपर्ने थियो । समय कहिलेकाहिँ तलमाथि हुन सक्ला । अत्यावश्यकीय भए त्योभन्दा अझै छिटो पनि र आवश्यक नहुँदा केही समय धकेलिन पनि सक्छ । 

तर विधान नै मिच्ने गरी बैठक सार्नु भने लोकतन्त्रमा उपयुक्त मानिँदैन । एक वर्षसम्म बैठक सार्न सक्ने काँग्रेस सभापति शेरबहादुर देउवाको ढृष्टतालाई भने मान्नै पर्छ । 

उनले यति लामो समयसम्म बैठक नडाक्दासमेत विद्रोह भएन । बैठक नडाकी हुन्न भनेर कडिकडाउ गरिएन । काँग्रेसको क्यालेन्डर नै नभएकाले गर्दा आजको दिनसम्म आउनु परेको हो । 

देउवाले पहिलो कार्यकाल पनि क्यालेन्डर नबनाएकैले एक वर्ष त महाधिवेशन नै धकेलेका थिए । यसपालि पनि उनले क्यालेन्डर बनाएनन् । जसका कारण केन्द्री समिति बैठकसमेत एक वर्ष पछाडि सारिसकेका छन् । 

यसकारण पनि बैठक गर्माउने छ । आक्रोशका भँडासहरु पोखिने छन् । यही भँडास नै मलमासले निम्त्याएको एक रुप हुन सक्ने पनि देखिएको छ । 

हुनत मलमास भन्दा अगाडि नै काँग्रेस बैठक बोलाइएको थियो । तर देउवालाई दुई दिन भए पनि पछाडि धकेलौँ भन्ने चाहनामा परिस्थिति त्यस्तै आइलाग्यो । 

बैठक डाकिएकै दिन असार २७ गते बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण बैठक शुरु नै हुन सकेन । 

बैठक एक दिन पर सार्न सकिन्थ्यो होला । तर देउवाले एक हप्तै पछि सारिदिए । जसका कारण छोयो मलमासले । 

माथिको मलमासको कथा राखिरहँदा नयाँ काम मलमासमा गर्न बर्जित छ । तर यो त धार्मिक कुरा पर्यो । काँग्रेस धर्म निरपेक्षको मुद्दा स्थापित गरेको पार्टी पर्यो । जसले गर्दा यसलाई काँग्रेसले बेवास्ता गर्न सक्छ । र गरेको पनि छ । 

तर पार्टीभित्रै हिन्दू धर्मको नारा गुन्जन्छ । हिन्दू धर्मको मुद्दा लिएर जनमत गर्नुपर्छ भन्ने आवाज पनि गुन्जिएकै हुन् । त्यसलाई यसअघिदेखिका नेतृत्वले दबाएर राखेकै हुन् । 

त्यता नजाऔँ । सतही रुपमा हेर्दा बाहिर देख्दा आज मलमासको दिन बैठक शुरु हुने भए पनि अन्य दिन शुरु हुँदासमेत काँग्रेसको बैठकमा यसपालि चर्काचर्की धेरै नै हुनेछ । 

प्रतिनिधि सभाको बैठकसमेत साउन १० गते बस्ने गरी स्थगित भएको अवस्थामा साउन २ देखि कम्तीमा एक हप्तासम्म छलफल निरन्तर चल्ने नेताहरुले बताएका छन् । 

साउन ६ गते भने काँग्रेस संस्थापक वीपी कोइरालाको स्मृति दिवस भएकाले विभिन्न अन्य कार्यक्रम गर्ने योजना रहेको बताइन्छ । 

एकाएक लाइभको चर्चा र देउवाको रणनीति
काँग्रेस पार्टी कार्यालयका कार्यबाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार आज दिउँसो १ बजे केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपा वीपीनगरमा बस्दैछ । 

उनले त्यसअघि अब कुनै पदाधिकारी बैठकसमेत नबस्ने बताएका छन् । पदाधिकारी बैठकले सोमबार नै एजेन्डा तय गरिसकेकाले अब सिधै केन्द्रीय समिति बैठक बस्नेछ । 

उनले कुनै औपचारिकता ननिभाइ सिधै बैठक बस्नेसमेत बताएका छन् । उनले केन्द्रीय सदस्यलाई बोल्ने समय पनि नतोकिएको बताए । तर ७ देखि १० मिनेटसम्म हुने बताए । यसअघि बढीमा ५–७ मिनेटको समय छुट्टाएर तालिका बनाउन लागेको बताइएको थियो ।  

बैठकमा आफूले पूरै आरोप खेल्नुपर्ने र त्यसको अपजश आफूले नै बोक्नुपर्ने पीडामा सभापति देउवा छन् । देउवाले एक्लै त्यो अपजश खेप्नुपर्ने भएपछि त्यसलाई मत्थर गर्ने उपाय पनि निकालेका छन् – प्रत्यक्ष प्रशारणको । 

अहिलेसम्म नभएको यो प्रक्रिया अपनाएर उनले पारदर्शी हुन खोजेको देखाए पनि खासमा आफूमाथि लाग्न सक्ने आलोचना कम गर्ने योजना रहेको बुझिन्छ । 

तर के पार्टीभित्रका आन्तरिक गतिविधि बाहिर ल्याउनु उचित हो त ? भन्ने प्रश्न भने अहम् छ । पार्टीभित्र मन्थन हुन्छ । आलोचना हुन्छ । गल्तीमाफीका कुरा हुन्छन् । ती स्वभाविक हुन् । 

नेतृत्वको वाहीवाही मात्र त कट्टरपन्थीहरुमा हुन्छ । लोकतान्त्रिक पार्टीमा हुँदैन । त्यहाँ चर्को बहस हुन्छ अनि एउटा निर्णयमा पुगिन्छ । 

ठूला र साना गरी एकदर्जन एजेन्डा रहेका छन् । त्यसमा घनिभूत छलफल गर्नुपर्नेछ । त्यो रणनीतिक बैठक पनि हो । तर त्यही बैठकलाई लाइभ गरेर आफ्ना एजेन्डाको निचोड निस्कनुअघि नै सार्वजनिक गर्ने हो भने अब कुनै कोठे बैठक नगरे हुने भयो । 

तर आफ्ना यसअघिका कोठे निर्णयको ढाकछोप गर्नका लागि केन्द्रीय समिति बैठक नै लाइभ गर्नुपर्छ भन्ने छैन । 

जेहोस् मलमासकै दिन थालनी हुने काँग्रेसको एक वर्ष बढी समयपछिको केन्द्रीय समिति बैठक सार्थक होस् । व्यक्ति हैन पार्टी हावी होस् । 

व्यक्तिको हैन पार्टीको एजेन्डा होस् । यसै पनि चुनौतीका चाङ काँग्रेस सामु छन् । ती चुनौती चिर्न सकोस् । 

यस्तो नहोस् कि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ । यस्तो नहोस् कि ‘गाई त आइन् तर...’, ‘बाह्र वर्षमा .....आएको म.....ज्वरो...आएको’, बाह वर्ष ...पुच्छर ...... बाङ्गाको बाङ्गै ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ