arrow

सुन जाँच पासमा संलग्न सबैलाई निलम्बन गर्ने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
TIA-custom-1.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । सुन तस्करीमा उच्च राजनीतिक नेतृत्वसमेत मुछिदै आएको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भई बाहिरिने क्रममा ठूलो परिणामको सुन बरामद भयो । 

सुन बरामद भएपछि राजनीतिक वृत्तसमेत तरंगित भएको छ । केही दिनअघि नौ किलो सुन चोरी प्रकरणमा राजनीति दलका नेताहरुको संलग्नतालाई लिएर टिकाटिप्पणी भैरहेको थियो । 

त्यही बेला करिब एक क्विन्टल सुन बरामद भएपछि यसको पनि कनेक्सन राजनीतितिर नै सोझिएको छ । राजनीतिक कनेक्सन वा तस्करहरुसँगको मिलिभगतलाई अनुसन्धानको पहिलो चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बन गर्ने तयारी गरिएको विभागले जनाएको छ । 

विभागले भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा उठाएको भन्ने यकिन गर्ने तयारी गरेको छ । 

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरी बाहिरिएको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा बरामद भएको हो । 

यो प्रकरणमा ६ जना पक्राउ परिसकेका छन् । विभागले बरामद सुनको जोख्न राष्ट्र बैंक लैजाने तयारी गरेको छ । यसो गरिरहँदा राजनीतिक क्षेत्रबाट पनि विभिन्न प्रश्न उठाइएको छ । 

एमाले महासचिव शंकर पोखरेलले सुरक्षा निकायको कमजोरी र भन्सार विभागको गल्ती औँल्याइसकेका छन् । उनले उच्च राजनीतिक व्यक्तिहरु जोडिएको हुनसक्ने भन्दै यसअघि कनेक्सनमा देखिएका व्यक्तिहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने धारणा सार्वजनिक गरेका छन् । उनले नौ किलो सुन प्रकरणमा राजनीतिक कनेक्सन देखिएको राजनीतिक नेतृत्वमाथि पनि प्रश्न उठाएका छन् । 

‘दिनहुँ सुन तस्करीका समाचारहरु आइरहेका छन् । सुन तस्करीमा सडक मात्र होइन हवाइमार्गको समेत प्रयोग भइरहेको छ । केही दिनअघि इलेक्ट्रिक सिग्रेटमा लुकाई ल्याएको सुनलाई मिलोमतोमा छुट्टाउने प्रयास भएको समाचार सार्वजनिक भएको थियो । हिजो त एअरपोर्टको सुरक्षा प्रणालीलाई पार गरेर बाहिरिएको एकक्विन्टल सुन समातिएको छ । एअरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भंसार प्रशासनसमेत तस्करीमा प्रत्यक्ष जोडिएको देखिनु गम्भीर विषय हो । त्यसमाथि सुन तस्करीमा सरकारको नेतृत्व गरिरहेका दलका जिम्मेवार नेताहरुको नामसमेत मुछिनुले स्थिति निकै गम्भीर देखिन्छ । राष्ट्रलाई नै लज्जित बनाउने यस्ता घटनामा जनप्रतिनिधिमुलुक निकाय प्रतिनिधि सभाको ध्यान गम्भीररुपमा जानु आवश्यक छ’, महासचिव पोखरेलले भनेका छन् । 

उनले सामाजिक सञ्जाल मार्फत राखेको धारणाले सुरक्षा निकाय, भन्सार विभाग र राजनीति क्षेत्रका व्यक्तिहरुमाथि अनुसन्धान गर्नु पर्ने पक्षलाई जोड दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ