- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । मंगलबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार पनि बस्ने भएको छ । यसअघि मंगलबार एजेन्डा सार्वजनिक गरेसँगै बुधबार र बिहीबार गरी दुई दिन ८१ जनाले बोलेकामा शुक्रबार ३३ जनाले बोलेका छन् ।
दोस्रो दिन बुधबार आमन्त्रित प्रदेश सभापतिसहित ४६ र बिहीबार ३५ केन्द्रीय सदस्यहरुले बोलका थिए । त्यस्तै शुक्रबार ३३ जनाले बोलेका हुन् ।
बैठक आइतबार सक्याउने गरी तयारी भइरहेको भए पनि बोल्न बाँकी सदस्यहरु अझै रहेका छन् ।
बैठकमा शुक्रबार केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, ध्रुव वाग्ले, गेहेन्द्र गिरी, डा. आरजू राणा देउवा, जीतजंग बस्नेत, राजीव ढुंगाना र अञ्जनी श्रेष्ठले आ–आफ्ना धारणा राखेका थिए ।
बैठक अब आइतबार बिहान ११ बजे बस्नेछ ।
शनिबार भने वीपी स्मिति दिवस हो । त्यो दिन केन्द्रीय समिति बैठक बस्दैन । कांग्रेसले विशेष कार्यक्रम गर्ने भएको छ ।
कांग्रेसले देशका सबै पालिकाहरुमा रुख रोप्ने कार्यक्रम रहेको महामन्त्री गगनकुमार थापाले बताएका छन् । उनले जिल्ला कार्यसमितिका सबै जिल्ला सभापतिहरुलार्य पत्र लेख्दै वीपी स्मृति दिवसमा नेपाली कांग्रेसका ७५३ वटै पालिका कार्यसमितिहरुले ‘रुख रोप्ने अभियान’ संचालन गर्नुपर्ने भनेका छन् ।
सोअनुसार भनिएको छ, ‘जिल्ला भित्रका सम्पूर्ण पालिका, कार्यसमिति, पालिका भित्रका वडा कार्यसमिति, टोलसमिति, क्रियाशील सदस्य र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका सदस्यहरुलाई सहभागी गराइ उक्त कार्यक्रम सम्पन्न गर्ने गराउने, जिल्ला, प्रतिनिधि सभा निर्वाचन, प्रदेश सभा निर्वाचन, क्षेत्र–पालिका कार्यसमिति र वडा कार्यसमितिका सम्पूर्ण साथीहरुलाई आ–आफ्नो पालिकामा सहभागी गराउने, रोपिएको रुख संरक्षणका लागि उचित व्यवस्थापन गराउनु हुन अनुरोध गरिन्छ ।’
यसपालिको कांग्रेस बैठक पहिलो पटक प्रत्यक्ष प्रशारण भइरहेको छ । धेरैजसो नेताहरुले कांग्रेसलाई संगठित गर्ने भन्दा पनि पालेका कुण्ठाहरु ओकलेका छन् ।
त्यसैगरी महामन्त्री र सभापतिमै गएर नेताहरुले आरोप प्रत्यारोप गरिरहेका छन् ।