- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलिसम्म सकिने भएको छ । आज सकिने भनिएको भए पनि सम्बोधन गर्न बाँकी सदस्यहरु अढाई दर्जन बढी भएसँगै आजै बैठक सकिने सम्भावना कम रहेको छ ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजै बैठक सकिन पनि सक्ने तर बोल्न बाँकी सदस्यहरु धेरै रहेकाले भोलिसम्म चल्न सक्ने बताए । उनले भने, ‘आज सकिन पनि सक्छ, आज सकिएन भने भोलि सकिन्छ । माइन्यूट लेख्नु पर्यो, निर्णयहरु लेख्नुपर्यो, पारित गर्नुपर्यो, त्यसैले भोलिसम्म सकिन्छ ।’
मंगलबारदेखि चलिरहेको बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपीनगरमा बस्नेछ । अहिलेसम्म ११५ जना सदस्यले आफ्नो भनाइ राखिसकेका छन् ।
बैठकमा १० वटा एजेन्डा रहेका छन् । तर बोल्ने सदस्यहरुले एडेन्डामा बोल्नुभन्दा सभापति र महामन्त्रीका विषयमा मात्रै बोलेका छन् । केही औँलामा गन्न मिल्ने सदस्यहरुले मात्र पार्टी हित र संगठनका बारेमा बोलेका छन् ।
प्रत्यक्ष प्रशारण गरिएको कांग्रेस बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवालाई भगवानकै रुपमा प्रस्तुत गरेका छन् । जसले देउवाको विकल्प छैन भनिरहेका छन् उनीहरुले महामन्त्री गगनकुमार थापालाई गाली गरिरहेका छन् ।
गगनले संसदीय दलको नेतामा देउवासँग चुनाव लड्नु र देउवा संसदमा सक्रिय नभएका अवस्थामा गगनले देउवालाई जिम्मेवार बन्न आग्रह गरिरहँदा देउवा निकटका केन्द्रीय सदस्यहरुले आलोचना गरेका छन् ।
त्यही झ्वाँकमा पार्टीलाई उर्जावान बनाउने र केन्द्रीय सदस्यहरु ११ महिना पार्टी कामलाई खटिएर जनताको बीचमा रहनु पर्ने योजना ल्याउँदासमेत आलोचना गरिरहेका छन् ।
विभिन्न एनजीओ र आईएनजीओकी अनुभवी देउवा पत्नी आरजू देउवा राणाले त महामन्त्रीको एक वर्षे कार्यक्रमको प्रतिवेदनलाई ‘एनजीओको विसलिष्ट’ जस्तो भएको आरोप लगाएकी छिन् ।
यसपालिको बैठक पार्टीको संगठनलाई मजबुद बनाउने भन्दा पनि कसरी एक अर्कामा हिलो छ्याप्ने भन्नेमै केन्द्रित देखिएको छ ।
प्रत्यक्ष प्रशारण भएकाले पनि यो बैठकले अबको राजनीतिमा विपक्षीहरुसँग कसरी तालमेल गर्ने ? कसरी उनीहरुलाई हेर्ने ? रणनीति कस्तो बनाउने भन्ने बारेमा केही पनि निर्णय गर्न सक्ने हैसियत राख्ने छैन ।
किनकि गोप्य रुपले रणनीति बनाउनु पर्ने योजनाहरु कसैले पनि प्रत्यक्ष प्रशारण गरेर बाहिर ल्याउन सक्दैन ।
एक राजनीतिक विश्लेषकले सटिक रुपमा जवाफ दिँदै भने, ‘कांग्रेसका योजना नै छैनन् त्यसैले प्रत्यक्ष प्रशारण गर्यो ।’
उनले अगाडि भने, ‘एक वर्षपछि डाकिएको बैठकले कांग्रेस सशक्त भएर उभिन्छ भन्ने सन्देश दिएको छैन यो त एमाले र माओवादीमा जस्तै मुखियाको पूजा गर्नुपर्छ भन्ने सन्देश दिएको मात्रै हो ।’
हुन पनि बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीका योजना र कमीकमजोरीमा जोड दिएर अब के गर्ने भनेर छलफलमा सहभागी हुनुको सट्टा सात मिनेटभित्रमा देउवातर्फका भए देउवालाई देवत्वकरण गर्ने वाक्यहरुमा शब्द खर्चिएका छन् भने महामन्त्रीको पक्षमा भएकाले महामन्त्रीको प्रतिवेदन राम्रो भएकाले यसको पालना गर्नुपर्नेमा जोड दिँदै पार्टीमा व्यक्ति हावी हुन नहुने सन्देश दिएका छन् ।
केही वरिष्ठ केन्द्रीय सदस्यहरुले त देउवाको कार्यकाल यो भन्दा अझै धेरै हुनुपर्ने भन्दै विदेशमा ९६ वर्षसम्म पनि सक्रिय राजनीति गरिरहेकाहरु थुप्रै भएको भन्दै उदाहरण प्रस्तुत गरेका थिए ।
समग्रमा अहिलेसम्मको गतिविधि हेर्दा नेपालको इतिहासमा कुनै पनि दलले आफ्नो केन्द्रीय कार्यसमिति बैठक पहिलो पटक प्रत्यक्ष प्रशारण गरेको छ ।
यो प्रत्यक्ष प्रशारण गर्दा रणनीतिमा भन्दा आफ्नै नेतालाई गाली वा देवत्वकरणमा जोड दिइएको छ । लोकतान्त्रिक पद्धतिमा गाली र ताली सामान्य हो ।
अझ पार्टीलाई सशक्त बनाउन त नराम्रा पक्षको आलोचना गरी निखारिएर जानुपर्ने हुन्छ । केन्द्रीय सदस्यहरुले जिम्मेवार भएर आफ्नो भूमिका खोज्नुपर्ने हुन्छ ।
एजेन्डा भन्दा भजनमा बढी केन्द्रित भएकाले कांग्रेसको एक वर्षको क्यालेन्डर महामन्त्रीले ल्याएजस्तो चलायमान हुने किसिमको आउँछ कि एक वर्षसम्म बैठक नै नबसेर भएकै छ किन पार्टीका लागि ११ महिना काम गर्ने भनेर आरामदायी आउँछ भन्ने प्रतिक्षा नै रहेको छ ।
तर पार्टीमा कसैका पनि कुरा सुन्दैनन् भन्ने लागेको दाग हटाउन देउवाले प्रत्यक्ष प्रशारण गरेर उदार देखिएको बताए पनि यसले यसअघि गरेका एकलौटी निर्णयको गैरलोकतान्त्रिक पद्धति भने चोखो नहुने विश्लेषण भइरहेको छ ।