arrow

याकचौँरीलाई लम्पी स्कीनविरुद्धको खोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
yak-solukhumbu-chauri.jpg

मनाङ  ।  हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिएसँगै खोप लगाउन थालिएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएपछि रोग लाग्नु अगावै खोप लगाउन थालिएको हो ।  

मनाङका याकचौँरीलाई लम्पी स्किनबाट सुरक्षित बनाउन लम्पी स्किन विरुद्धको खोप लगाउन थालिएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिए । उनका अनुसार ८९ गाई, ९६ गोरु र याक, नाक (झोपा) तथा चौँरी गरी ५१ लम्पी स्किन विरुद्धको खोप लगाइसकिएको उनले बताए । 

“लम्पी स्किनको सङ्क्रमण धेरै नफैलियोस् भनेर खोप लगाउन थालिएको छ, यसको नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्थापन गरिरहेको छ”, प्रमुख कुसुमले भने, “लम्पी स्किन रोग नियन्त्रण गर्न खोप र अन्य आवश्यक सामग्री भेटेरिनरी अस्पतालमा ल्याइएको छ ।” यहाँका पशुलाई लगाउन लम्पी स्किन विरुद्धको भेटेरिनरी अस्पतालले दुई हजार डोज खोप ल्याइसकेको उनले बताए । 

नासों गाउँपालिकामा ३६, चामे गाउँपालिकामा ९६ र मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १४ पशुमा खोप लगाइसकिएको उनले जानकारी दिए । नार्पाभूमि गाउँपालिकामा बाहेक अन्य पालिकामा सङ्क्रमण फैलिएकाले यहाँका पुशलाई खोप लगाइएको उनले बताए । चामे-२ स्थित थानचोक, मनाङ ङिस्याङको हुम्देस्थित क्युपार र नासों-२ को नाचे आलुबारीका पुशमा सङ्क्रमण देखिएको छ । 

आर्थिक वर्ष २०७९÷८० को अन्तिममा मनाङमा लम्पी स्किनको सङ्क्रमण देखिएको हो । “सरकारबाट बजेट व्यवस्थापन गर्न समस्या भएको अवस्थामा पालिकालाई हेर्नुपर्ने भनेका थियौँ, अहिले सरकारबाट खोपको व्यवस्थापन भइसकेको छ”, उनले भन्नुभयो, “अझै पशुमा खोप लगाउने क्रम जारी रहेको छ ।” अब पालिकाले पशुको सहायक उपचारका लागि एन्टीबायोटिक्स सुई जिट, मेलोक्सिकाम र रेष्टोवल इम्युनोवुष्टर लगायतका औषधि खरिद गर्न सक्ने उनले बताए । 

यी औषधि खरिदका लागि पालिकासँग सहकार्य भइरहेको उनले बताए । पशुपालक किसानको गोठमै पुगेर पशु प्राविधिकले लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाउने कार्य भइरहेको प्रमुख कुसुमले जानकारी दिए । उनका अनुसार भेटेरिनरी अस्पतालको समन्वयमा रोग नियन्त्रणका लागि स्थानीय तहले पशु प्राविधिकलाई खटाएको छ । 

पशुमा लम्पी स्किन देखिनासाथ सगोलमा रहेका पशुलाई छुट्याएर राख्न सुझाव दिएको उनले बताए । पशुलाई टोक्ने लामखुट्टे, माखाबाट जोगाउन पशुपालक किसानलाई सचेतना जगाउन कार्यमा पनि लागिरहेका उनले बताए । बिरामी परेका पशुलाई स्याहारसुसार गरी सङ्क्रमण नभएका पशुको नजिक नजान, सरसफाइ गरेरमात्र अन्य वस्तुको स्याहारसुसार गर्न सुझाव दिइएको भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ