arrow

हाम्रो पार्टी जमेको पोखरी जस्तो भएको छ बदल्नुपर्छ भन्ने ठानेको छु – गगन थापा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
gagan-thapa-2080-04-08.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी जमेको पोखरीजस्तो भएको बताएका छन् । पार्टीको केन्द्रीय समिति बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले पार्टीमा नेतृत्व लिने सवालमा अहिलेसम्म चार पाँच नेतामै वरिपरि घुमेको भन्दै यो बदलिनु पर्ने बताएका हुन् । 

उनले प्रजातन्त्रमा ‘एक्जिट’ को व्यवस्था भएको भन्दै त्यसको पालनाका लागि नियम बनाउनु पर्ने बताएका हुन् । उनले भने, ‘यो कुनै व्यक्तिको दोष हैन । हाम्रो पार्टी जमेको पोखरी जस्तो भएको छ । यो बदल्नु पर्छ भन्ने ठानेको छु । सभापतिप्रति मलाई अथाह श्रद्धा छ ।’

उनले आफूलाई पार्टी सभापतिलाई गाली गरेको आरोप लागिरहेको भन्दै उनले व्यक्तिलाई भन्दा पद्धतिलाई आफूले बदल्न खोजेको भन्दै सभापति शेरबहादुर देउवा पिता समान भएको भन्दै अथाह श्रद्धा भएको बताएका हुन् । 

तर उनले संसदीय दलको नेता बदल्नु पर्छ भन्नेमा आफू यसपछि पनि निरन्तर लागिरहने बताएका हुन् । 

अधिकांश केन्द्रीय सदस्यहरुले देउवालाई देवत्वकरण गर्दै महामन्त्री थापामाथि आलोचना गरिरहँदा त्यसको जवाफ दिने क्रममा उनले पार्टीको बैठक डाकौँ भनेर भन्दा पनि महामन्त्रीले दोष पाउने हो र ? भन्दै प्रश्न गरे । 

उनले जनताले कांग्रेसबाट धेरै कुराको आशा गरेको भन्दै त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । उनले आफू एक्लै भए पनि अगाडि बढ्ने भन्दै सबैले दिएका सुझाव र आलोचनालाई ग्रहण गर्ने पनि बताए । 

महामन्त्री थापाले नेपाली नागरिक आत्तिइरहेको भन्दै उनीहरुको मागलाई कांग्रेसले विधानअनुसार सम्बोधन गर्नुपर्नेमा जोड दिए । जनताले कांग्रेसलाई साथ दिए पनि उनीहरुको कुनै पनि माग सम्बोधन गर्न नसकेका कारण उनीहरु आक्रोशित भएको नेता थापाले बताए । 

उनले भने, ‘नागरिक रिसाएका छन् । उनीहरु भन्छन् –तिमीहरुले आह्वान गर्यौ हामीले साथ दियौँ । भ्रष्टाचार बढायौ, सुशासन छैन, छोराछोरी बाहिर जान्छु भन्छन् । तिमीले मलाई के दियौ ? भनेर भनिरहेका छन् ।’

उनले बाहिर कांग्रेस पार्टी सकिएको भनेर आत्तिएको पाएको सुनाउँदै नेता थापाले अगाडि भने, ‘बाहिर पार्टी सकियो भनेर आत्तिएको पाएको छु । यहाँ मैले ५–६ दिन सुन्दा त सबै ठीक छ जस्तो लाग्छ । महामन्त्री बढी बोल्छ यो मौन बस्यो भने पार्टी बन्छ भन्ने पनि छन् ।’

उनले कांग्रेसको अबको एजेन्डा बदलिनु पर्नेमा जोड दिएका छन् । उनले भने, ‘कुनै बेला शान्तिको एजेन्डा थियो । कुनै बेला संविधानको एजेन्डा थियो । अब हाम्रो एजेन्डा के हो ? हामीले हाम्रो घोषणा पत्रमा राखेका छौँ । ‘समुन्नत नेपाल सम्मानित नेपाली’ हाम्रो एजेन्डा हो । हाम्रो सिद्धान्त समाजिक सिद्धान्त हो । कांग्रेसको एजेन्डा भिजन संकल्प हो ।’ 

उनले भ्रष्टाचारमा स्पष्ट हुनैपर्नेमा जोड दिँदै भने, ‘स्थानीय तहमा ३३२ तहमा कांग्रेसको नेतृत्व छ कसैले पनि भ्रष्टाचारमा संलग्न हुन्छ भने त्यसलाई कारबाही हुनैपर्छ ।’ 

उनले भ्रष्टाचारको जात, लिंग, भाषा केही पनि नहुने भन्दै भ्रष्टाचारीलाई जोगाउन नहुनेमा जोड दिए । उनले जनताले भ्रष्टाचार नभएको र सुशासन भएको देख्न चाहेको पनि स्पष्ट पारे । 

उनले २१ औँ शताब्दीको कांग्रेस बनाउनु पर्नेमा पनि जोड दिएका छन् । नेता थापाले 
विपदको बेलामा कांग्रेसले के गर्छ ? भनेर सबैले चासो राखेकोसमेत उल्लेख गर्दै त्यसमा आफूहरुले सम्बोधन गर्नुपर्ने बताए । 

नेता थापाले अबको दुई वर्षपछि पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘२०८२ सालमा जसरी पनि महाधिवेशन गर्नुपर्छ । त्यसो गर्न सकियो भने २०८४ को चुनावलाई प्रभाव पार्ने छैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ