कांग्रेस उपसभापतिमाथि नेपालगन्ज चोकमा चक्कु प्रहार
हाम्रा कुरा
प्रकाशित २०८० साउन ८ सोमबार
784
Shares
नेपालगन्ज । नेपाली कांग्रेस बाँके प्रदेश २ (ख) का उपसभापति अभिषेक श्रेष्ठमाथि एक समूहले चक्कु प्रहार गरेको छ।
उपसभापति श्रेष्ठलाई शनिबार राति १० बजे नेपालगन्जस्थित त्रिभुवन चोकमा घर जाँदै गरेको अवस्थामा ५-६ जना युवाको समूहमा रहेका प्रदिप भैवाले मुखमा चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट घाइते भएका उपसभापति श्रेष्ठको मुखमा ६ वटा टाँका लगाइएको छ। अस्पतालबाट डिस्चार्ज भएर आफू अहिले बेड रेस्टमा रहेको श्रेष्ठले बताए ।
शनिबार राति त्रिभुवन चोकबाट घर जाँदै गरेको अवस्थामा प्रदिप भैवाले चक्कु प्रहार गरेको उपसभापति श्रेष्ठले बताए। प्रदिपसँग अरु ५–६ केटाहरु रहे पनि आफूले उनीहरुलाई नचिनेको बताए।
नेता श्रेष्ठले आफूलाई चक्कु प्रहार गर्ने समूहलाई कडा कारबाही गर्नसमेत प्रहरीसँग माग गरेको बताएका छन् ।
यता घटनाको विरोधमा नेपाली कांग्रेस प्रदेश २ (ख) का सभापति जितेन्द्र बहादुर हमालले विज्ञप्तिमार्फत आक्रमण गर्ने युवाहरुको समूहमाथि कारबाही गर्न माग गरेका छन् ।
उपसभापति श्रेष्ठमाथि चक्कु प्रहार भए लगत्तै प्रहरीले आक्रमण गर्ने समूहको नेतृत्व गरेका प्रदिपलाई पक्राउ गरेको थियो ।
यसअघि पनि गुण्डागर्दी र लागूओषध सहित सार्वजनिक स्थलमा खुलेयाम गोली प्रहार गर्ने लगायतका गतिविधिमा लागेका प्रदिप केही दिन अघि मात्रै अदालतबाट धरौटीमा रिहा भएको बताइएको छ।