- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज सकिँदैछ । साउन २ गतेदेखि जारी बैठक आज सकिन लागेको हो । यसअघि पार्टी मुख्यालय वीपीनगर सानेपामा सोमबार सभापति सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुले आफ्नो विचार राखिसकेका छन् ।
आजको बैठकमा सभापति शेरबहादुर देउवाले बैठकमा उठेका धारणा र विषयलाई निष्कर्ष दिन जवाफ दिने कार्यक्रम रहेको छ । देउवाले जवाफ दिएसँगै महामन्त्रीले पेश गरेको कार्यक्रम पारित गर्ने कार्यक्रम रहेको छ ।
पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्णयहरु पारित भएसँगै केन्द्रीय समिति बैठक टुंगिने बताए ।
केन्द्रीय समिति बैठकले गर्ने निर्णयको खाकाको विषयमा देउवाले हिजै पदाधिकारीहरुसँग छलफल गरेका छन् ।
बैठकले ठ्याक्कै यही गर्ने भनेर टुङ्गो नलगाएको भए पनि मोटामोटी खाका बनिसकेको र त्यसलाई मिलाएर लैजाने सहमति भएको बुझिएको छ ।
आज भने पदाधिकारी बैठक नबस्ने मुख्यसचिव पौडेलले बताए ।
स्रोतकाअनुसार महामन्त्री गगनकुमार थापाले दर्ता गराएका १३ बुँदालाईसमेत समेटेर निर्णय गरिने छ । उक्त निष्कर्ष अपरान्ह ४ बजे बस्ने बैठकमा प्रस्तुत गरी पारित गरिने छ ।
पार्टीमा विभिन्न १० एजेन्डामा सदस्यहरुले आफ्नो धारणा राखेका छन् । त्यसलाई नै आधार बनाएर एक वर्षको कार्यक्रम तय हुनेछ । अबको कांग्रेसको रणनीति बन्नेछ ।
स्रोतका अनुसार हिजोको पदाधिकारी बैठक आगामी मंसिरमा नीति अधिवेशन गर्न सहमत भएको छ ।
कांग्रेसले पहिलो पटक केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेको छ ।