- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै बस्न सकेको छैन । अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि ५ः४५ बजेसम्म बस्न सकेको छैन ।
नेताहरुले भने सहमति अझै हुन नसकेका कारण समय सरेको स्रोतले बताएको छ । छलफल भएका १० वटा एजेन्डाहरु सहमतिमा पारित गर्न खोज्दा ढिलाइ भइरहेको बताइएको छ ।
५ बजे त पत्रकार सम्मेलन नै हुने बताइएको थियो । तर बैठक नै शुरु हुन नसक्दा पत्रकार सम्मेलनसमेत पछाडि धकेलिएको छ ।
स्रोतका अनुसार पदाधिकारीहरु सहमतिका लागि प्रयासरत छन् । महामन्त्री गगनकुमार थापाले सोमबारको बैठकमा १३ बुँदे प्रस्ताव पेश गरेपछि त्यसमासमेत के गर्ने भन्ने बारेमा पदाधिकारीहरु अलमलिएका छन् ।
यसअघि मंगलबार सहमतिका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारीको छलफल डाकेका भए पनि त्यहाँ सहमति हुन सकेको थिएन ।
साउन २ गतेदेखि जारी बैठक आज सकिने बताइएको छ । यसअघि पार्टी मुख्यालय वीपीनगर सानेपामा सोमबार सभापति सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुले आफ्नो विचार राखिसकेका छन् ।
यो बैठकमा सभापति शेरबहादुर देउवाले बैठकमा उठेका धारणा र विषयलाई निष्कर्ष दिन जवाफ दिएसँगै महामन्त्रीले पेश गरेको कार्यक्रम पारित गर्ने कार्यक्रम रहेको छ ।
पार्टी मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्णयहरु पारित भएसँगै केन्द्रीय समिति बैठक टुंगिने बताए ।
पार्टीमा विभिन्न १० एजेन्डामा सदस्यहरुले आफ्नो धारणा राखेका छन् । त्यसलाई नै आधार बनाएर एक वर्षको कार्यक्रम तय हुनेछ । अबको कांग्रेसको रणनीति बन्नेछ ।
कांग्रेसले पहिलो पटक केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेको छ ।