arrow

जलपरी गौरिकाको अर्को कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ११ बिहिबार
gaurika-singh-2080-04011.jpg

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्णधारी गौरिका सिंहले जापानको फुकुओकामा जारी २० औँ संस्करणको वल्ड एक्वाटिक च्याम्पियनशिप २०२३ मा आफ्नो पुरानो समयमा सुधार गर्दै नयाँ समयका साथ राष्ट्रिय कीर्तिमान राख्न सफल भएको टोली नेता एवं नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

बुधबार सम्पन्न ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले २०१६ मा गोहाटीमा आयोजना भएको १२ औँ साग गेम्समा राखेको ३१.८७ सेकेन्डको समयमा सुधार गर्दै ३१.४४ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसअघि गौरिकाले यसै च्याम्पियनशिपमा १०० मिटर ब्याकस्ट्रोकमा पनि नयाँ कीर्तिमान राखेकी थिइन् ।

ओलम्पिकको छनोट प्रतियोगितासमेत रहेको च्याम्पियनशिपको बुधबार भएको पुरुषतर्फको १०० मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले पनि आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । 

एलेक्सले पुरानो समय ५२.९६ सेकेन्डको समयमा सामान्य सुधार गर्दै ५२.९४ समयका साथ नयाँ रेकर्ड राखेका हुन् । एलेक्सले हालै सम्पन्न ११ औं एनएसए कप च्याम्पियनशिपमा ५२.९६ सेकेन्ड समयको किर्तिमान राखेका थिए ।

मंगलबार सम्पन्न प्रतियोगितामा डुवाना लामाले २०० मिटर फ्रिस्टायलमा आफ्नो ब्यक्तिगत समयमा सुधार गर्दै २ मिनेट १२.४६ सेकेन्ड समयमा दूरी पूरा गरेकी थिइन् । यसअघि डुवानको ब्यक्तिगत समय २ मिनेट १५.०१ समय रहेको थियो । यस विधामा गौरिकाको नाममा २ मिनट ११.९४ सेकेन्डको समय रहेको छ ।

अब नेपाली खेलाडीहरुको दुई खेल बाँकी छ । बिहीबार डुवाना लामाले १०० मिटर फ्रिस्टायल र एलेक्सले शुक्रबार ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टिम ब्यवस्थापक नरेश वैद्यले बताएका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ