- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । पाल्पामा पछिल्लो तीन वर्षयता सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएका मुद्दामध्ये ४३ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा रहेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा एक हजार १७ मुद्दा दर्ता भएकामा चार सय ४३ सम्बन्धविच्छेदका रहेका जिल्ला अदालतका तहसिलदार भेषराज खनालले बताए ।
उनका अनुसार सम्बन्धविच्छेदका तीन सय ६३ मुद्दा मात्र फर्स्यौट भएका छन् ।
गत आवमा दर्ता भएका कूल मुद्दामध्ये ७१ दशमलव ६८ प्रतिशत फर्स्यौट भएको जिल्ला अदालतले जनाएको छ ।
त्यस्तै, आव २०७८/७९ मा आठ सय ३४ मुद्दा दर्ता भएकामा तीन सय ७४ मुद्दा सम्बन्धविच्छेदका थिए । सो अवधिमा दुई सय ९२ मुद्दा फर्स्यौट भएका थिए ।
आव २०७७/७८ मा छ सय ३६ मुद्दा दर्ता भएकामा दुई सय २८ सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दर्ता भएका थिए । सो अवधिमा एक ४६ मुद्दा मात्र फर्स्योट भएका खनालले बताए ।
उनका अनुसार पछिल्लो तीन वर्षमा जिल्लामा दुई हजार चार सय ८७ मुद्दा दर्ता भएकामा एक हजार ४५ सम्बन्धविच्छेदका छन् ।
अपरिपक्व उमेरमा गरिएको विवाह, प्रेम विवाह र वैदेशिक रोजगारीलगायत कारणले सम्बन्धविच्छेद गर्ने दम्पत्तीको सङ्ख्या बढ्दै गएको खनालको भनाइ छ । उनका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै सम्बन्धविच्छेदका छन् ।
वैदेशिक रोजगार, कम उमेरमा विवाह, प्रेम विवाह, सामाजिक सञ्जालको बढ्दो प्रयोग र अन्य पारिवारिक समस्याका कारण पछिल्ला समयमा सम्बन्धविच्छेद गराउनेको सङ्ख्या बढ्दै गएको देखिएको छ । -रासस