arrow

एमालेलाई एकताबद्ध तथा बलियो बनाउन ध्यान दिन्छौँ : गोकर्ण विष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १३ शनिबार
gokarna bista pokhara.jpg

पोखरा । नेकपा (एमाले) सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्टले एमालेलाई एकताबद्ध तथा बलियो बनाउन ध्यान दिने बताएका छन् । 

एमाले जिल्ला कमिटी कास्कीद्वारा अयोजित अगुवा कार्यकर्ता अनुशिक्षणमा उनले पार्टीलाई बलियो बनाउनका लागि कोही कसैप्रति नकारात्मक टिका टिप्पणी नगरी जिम्मेवार र अनुशासित भएर काम गर्न निर्देशन दिए ।

उनले एकमन र एकताका साथ पार्टीको काममा जुट्ने कामको सुरुवात कास्कीबाट गर्न आग्रह गर्दै विचार र भावनाका साथ अघि बढ्नुपर्ने बताए । 

उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेण्डालाई अघि सारेको एमालेलाई कमजोर बनाउन हिलो छ्याप्ने काम भएको भन्दै एमालेलाई चारैतर्फबाट भएको घेराबन्दीको सामना गर्न पार्टीको आन्तरिक एकतालाई मजबुद बनाउन ध्यान दिएको स्पष्ट पारे ।

शोषणरहित समतामूलक समाज स्थापना गर्ने योजना र चाहनालाई पूरा गर्न पार्टी लागेको भन्दै उनले रोजगारीको सिर्जना र उद्यमशिलताको विकास गरी जनताको जीवनस्तर सुधारमा ध्यान दिने स्पष्ट पारे । 

उनले सामाजिक न्याय सहितको समृद्धि हासिल गर्दै समाजवादमा पुग्ने यात्रा तय गरेको उल्लेख गरे ।

स्थायी समिति सदस्य खगराज अधिकारीले पार्टी सरकारमा रहँदा सधैं प्रगतिशील सुधारको कार्यक्रम गरेको भन्दै पार्टी प्रणालीलाई व्यवस्थित गरी सदस्यता अद्यावधिक गर्न आग्रह गरे । उनले ठोस योजनाका साथ काम गरी कास्कीलाई नमुना जिल्ला बनाउन पनि निर्देशन दिए ।

अर्का स्थायी समिति सदस्य थममाया थापामगरले नेता तथा कार्यकर्तालाई वैचारिक तथा राजनीतिक रुपमा प्रशिक्षित गरी संगठनलाई चुस्त दुरुस्त बनाउनसके जुनसुकै आन्दोलनमा समेत सफलता मिल्ने बताइन् । 

नेता सोमनाथ अधिकारी प्यासीले सिंगो पार्टी कमिटी संगठन निर्माणमा लाग्न आग्रह गरे । कमिटीमा बस्नेलाई जिम्मेवारी बोध गर्न निर्देशन दिँदै उनले कम्युनिस्ट पार्टी सामुहिक र संस्थागत निर्णय गरी नचलेमा जनताप्रति बेइमानी हुने तर्क गरे ।

कार्यक्रममा जिल्ला कमिटी कास्की अध्यक्ष मनबहादुर गुरुङ, उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्रीले लगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ