- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बागलुङ । बागलुङको ताराखोला गाउँपालिका-२ अर्गलमा विसं २०७६ देखि यहाँका कृषकले व्यावसायिक अलैँची खेती गर्दै आएका छन् । सुरुमा अलैँचीका बिरुवा हुर्किदै गएपछि उत्साहित बनेका कृषक अहिले निराश बनेका छन् ।
अलैँचीले फल दिने बेला सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । चार वर्ष अगाडि गाउँमा फाट्टफुट्ट अलैँची खेती गरे पनि व्यावसायिकरुपमा भने गरिएको थिएन । गाउँपालिकाले पूर्वी नेपालबाट बिरुवा लिएर अनुदानमा दिएपछि कृषक व्यावसायिकरुपमा अलैँची खेती गर्न थालेका हुन् ।
असार महिनादेखि अलैँची फूल्न थालेपछि बोट सुक्न थालेको हो । अहिलेसम्म सयौँ बोट सुकेर नष्ट भएका छन् । अपरिचित रोगबाट अलैँची मर्न थालेपछि कृषक सशङ्कित बनेका छन् । अघिल्लो वर्ष केही बोट सुक्ने समस्या देखिए पनि धेरै समस्या नआएको स्थानीय कुलबहादुर घर्तीमगरले जानकारी दिए । आफूले दुई रोपनी क्षेत्रफलमा स्थानीय जात र नौ रोपनीमा भार्लाङ जातको गरी ११ रोपनी क्षेत्रफलमा अलैँची लगाएको बताए । त्यसमध्ये हालसम्म २० प्रतिशत बोट सुकेर नष्ट भएको उनले बताए ।
कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले ढुसीजन्य रोगका कारण अलैँचीका बोट मर्न थालेको बताए । बागलुङमा एक सय हेक्टर जमिनमा खेती हुने गरेको छ ।