arrow

राहुघाट-तातोपानी सडकखण्डमा रातको समयमा यातायात आवागमन बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २३ मंगलबार
pahiro-beni-jomson.JPG

बेनी । बेनी-जोमसोम सडकको राहुघाट-तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ । यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो ।

सोमबार जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकले ठाउँठाउँमा पहिराको कारण दैनिकजसो सडक आवागमन अवरुद्ध हुने गरेको र जनधनको समेत क्षति हुने जोखिम रहेकाले  वर्षायामभरि रातिको समयमा यातायात आवागमन नगर्न अनुरोध गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए । 

रघुगङ्गा गाउँपालिका-२ बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न नरोकिएको र पहिरो खसेर सडक अवरुद्ध हँुदा धेरै सर्वसाधारण र यात्रु अलपत्र पर्ने समस्या आउन थालेपछि रातको समयमा सवारी आवागमनलाई रोक्ने निर्णय गरिएको उनले बताए । रातको समयमा अत्यावश्यक यात्रा गर्नुपरेमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिलाई खबर गरेरमात्रै आवातजावत गर्नसमेत आग्रह गरिएको छ ।

त्यसैगरी बैसरी पहिरो रोकथामका लागि पहिरो खस्न सुरु भएकै ठाउँमा एक्साभेटर मेसिन प्रयोग गेरेर संरक्षण र रोकथामका संरचना निर्माण गर्न कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला सडक योजना)लाई अनुरोध गर्ने र सो कार्यका लागि जिल्ला समन्वय समिति, जिल्लास्थित सुरक्षा निकाय, रघुगङ्गा गाउँपालिका, डिभिजन वन कार्यालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णयसमेत भएको जिसस प्रमुख राजकुमार थापाले बताए ।

बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्न थालेपछि गत शनिबारदेखि बेनी-जोमसोम सडकखण्डमा सिधा सवारी अवरुद्ध बनेको छ । सडकमाथिको डाँडा र पाखाबाट निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएकाले सडकमा सयौँ सवारीसाधन लाम लागेका छन् । बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भूमिगत पानी र भिरमाथिको पाखोबाट सडकमा पहिरो खसिरहने भएकाले सडक सञ्चालन गराउन समस्या भएको जानकारी दिए ।

बेनी-जोमसोम सडकमा सिधा सवारी अवरुद्ध बनेसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका र सिङ्गो मुस्ताङवासीलाई सास्ती भएको छ भने मुस्ताङको भ्रमणमा आएका पर्यटक र मुक्तिनाथको दर्शनका लागि आएका तीर्थयात्रीसमेत बीच बाटैमा अलपत्र परेका छन् । गत वर्षदेखि अँधेरीखोलाको भिरबाट पहिरो खस्न थालेको थियो ।  यस क्षेत्रमा यसअघि पहिरो खस्दा गुडिरहेका सवारीसाधनमा क्षति पुर्याउनुका साथै र यात्रुलाई समेत चोटपटक लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ