महराका बाबुछोराको अनुसन्धान रोक्ने सरकारको भूमिका शंकास्पद
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
2.1k
Shares
काठमाडौँ । कुनैबेला केपी शर्मा ओलीले भ्रष्टाचारीलाई कारवाही गर्छु भ्रष्टाचारीको मुखपनि हेर्दिन भन्थे । सरकारमा हुँदा उनको दिनहुँ यस्तो भाषण आउने गर्दथ्यो । तर व्यवहार त्यस्तो थिएन, आरोपितहरु सधै संरक्षणमै रहे ।
अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हरेक दिन भ्रष्टाचारका फाइल खोल्ने र कसैलाई नछाड्ने दोहोर्याउँदै आएका छन् ।
तत्कालीन उपप्रधानमन्त्री, गृहमन्त्री, बहालवाला सचिव पक्राउ गरेर वाहीवाही कमाएको र उनीहरुको पक्राउपछि उत्साही भएका उनीहरुले नौ किलो सुन तस्करीमा जोडिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि अनुसन्धान अघि बढाउन सकेका छैनन् ।
करिब सय किलो सुन तस्करीमा मुछिएका दावा छिरिङको कनेक्सन तत्कालीन उपराष्ट्रपति र उनको परिवारसम्म पुग्दा पनि अनुसन्धान गर्ने कुनै सुरसार छैन । करिब ९ करोड सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान हुँदा पनि उनीहरूमाथि मुद्दा दर्ता नगर्नुले कांग्रेस र एमाले नेताहरुलाई बयानको आधारमा जेल हाल्ने माओवादीका नेताहरुलाई छुँदै नछुने र उन्मुक्ति दिने प्रपञ्च गरिएको छ ।
इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक ली हानसङसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई लगातार फोन गरेको तथ्य सीआईबीले स्थापित गरेको छ ।
सुन ल्याउने मात्र होइन भन्सारमा रोकिएपछि त्यहीँबाट बेच्ने सञ्जालमा महरा बाबुछोरा नाम उल्लेख गरिएको छ । प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायाँमा पारेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गर्दा उनीहरुलाई राजनीतिक उन्मुक्ति दिलाइयो ।
गत पुस १० मा दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङको लगेजमा ७३ बट्टामा ७३० थान भेप भेटिएको थियो । एकै पटक यति धेरै परिमाणमा भेप आएको भन्दै विमानस्थल भन्सारले शंकामा राख्यो ।
भेपमा सुन भएको भेटेपछि त्यसलाई लिलाम नगरी भन्सारका कर्मचारीहरुको मिलेमतोमा बेचिएको थियो । तर त्यो बेच्नुअघि नै महरा बाबु छोराले त्यसलाई छाड्न पटक पटक दबाब दिएका थिए ।
सीआईबीले एक चरणको अनुसन्धान सकेर मुद्दा दायर गरे पनि पूर्वसभामुख र उनका छोरामाथि थप अनुसन्धान गरेको छैन । जबकि सुन तस्करी तथा बिक्रीको जालो राहुल मात्र होइन स्वयम् कृष्णबहादुर महरा जोडिएको प्रहरी प्रतिवेदनमा स्पष्ट उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘मिसिलमै संलग्न कल डिटेल रेकर्ड (सीडीआर) प्रतिवेदनअनुसार सुन ल्याउने समूहमा रहेका चाइनिज नागरिक ली हानसाङ, दाओजिन वाङ, उनका चालक लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरा समेतको सम्पर्क, कृष्णबहादुर महरा र मुक्तिप्रसाद श्रेष्ठ आपसी सम्पर्कमा रहेको तथा यो समूहले सुन बेचबिखन गर्ने समूहसँग पनि सम्पर्कमा रहेको र निजीहरू आ–आफ्नो आपराधिक जिम्मेवारी बमोजिम खटिएको देखिएको भए पनि प्रहरीले प्रचण्ड र नारायणको दबाबमा छुटाइएको थियो ।
पछिल्लो पटक बरामद भएको करिब सय किलो सुनमा पनि पूर्व उपराष्ट्रपति पुन परिवारसँग निकट देखिएका र माओवादीका अन्य नेताहरुसँग निकट देखिँदा पनि उनीहरुलाई बयानमा बोलाउने वा सम्पर्क कुनै प्रयास गरिएको छैन ।
भेप प्रकरणपछि बाहिरिएको क्विन्टल सुन प्रकरणमा पनि माओवादी नेताहरूमाथि प्रश्न उठेको छ । पछिल्लो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, उनका छोरा दीपेश पुन, माओवादी उपमहासचिव वर्षमान पुन र उनकी पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्तीसँग चिनजान देखिएको छ ।
वर्षमान पुनले रोल्पाली ज्वाइँ भएकाले भेटघाट गरेको बताएका छन् । तर पूर्व उपराष्ट्रपति पुनको परिवारले केही बताएका छैनन् ।
वर्षमान पुनले सँगै खाना खाएको र फोटो खिचाएकै आधारमा कारोबारमा समेत संलग्न भएको भन्नु अन्याय हुने भन्दै नेतासम्पूर्ण अनुसन्धान गर्न र दोषी सबैलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् ।
तर पनि प्रहरी र अनुसन्धान गर्ने निकाय मौन देखिएको छ । दावाले रोल्पाकी अमला रोकासँग विवाह गरेर नेपालमै तस्करीको सेल्टर बनाएको देखिन्छ ।
यही नाताबाट नेपालमा अपराधको जालो फैलाएका दावाले तस्करीको धन्दा चलाउनकै लागि फर्जी विवरण पेस गरेर दोहोरो नागरिकता र राहदानी लिएको देखिन्छ ।
अमला माओवादीनिकट भएको र तस्करीमा संलग्न दावाको सम्पत्ति व्यवस्थापनका लागि उनलाई प्रयोग गरिएको अनुसन्धान संलग्न रहेका अधिकृतहरुले दाबी गरेका छन् । यद्यपि उनीहरुमाथि कुनै कारवाही प्रकृया अघि बढाइएको छैन ।
नारायणजीमाथि पनि प्रश्न
माओवादीका उपाध्यक्ष रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि विगत विवादित नै रहेको छ ।
२०७७ सालमा तत्कालीन माओवादी नेता कमानसिंह लामा र नारायणकाजी श्रेष्ठबीच करोडौँ रुपैयाँको कारोबारबारे कुराकानी भएको त्यसमा देखिएको–सुनिएको अडियो सामाजिक सञ्जालमा आएको थियो । यो विषयलाई लिएर नारायणकाजीमाथि चर्को आलोचना भएको थियो ।
अझ तत्कालीन नेकपाका सचिवालय सदस्य हाल एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कमानसिंह लामाको निधनपछि दिएको श्रद्धाञ्जली सन्देशमा ‘कमरेड कमानसिंह लामा अब हामीबीच रहनु भएन ! हार्दिक श्रद्धान्जली ! तर उहाँले आफू सम्वद्ध कम्युनिष्ट पार्टीलाई – अझ यसमा आवद्ध ‘कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएको छ । अलबिदा कमरेड कमानसिंह लामा !’, सामाजिक सञ्जालमा लेखेपछि नेकपाभित्रैबाट उनको आलोचना भएको थियो ।
तत्कालीन माओवादीका नेता कमानसिंह लामाले देह त्याग गर्नुअघि फेसबुकमा लेखेको लामो स्टाटसले श्रेष्ठलाई विवादमा तानेको थियो ।
त्यो विषयमा तत्कालीन नेकपाभित्र चर्को रुपमा उठेको थियो । श्रेष्ठको सचिवालयमा रहेकी सुसन कर्माचार्यले कमानसिंह लामाको हाइड्रोपावर कम्पनी किनेपछि शुरु भएको विवादमा श्रेष्ठ देखिएका थिए ।
लामाको सन्देश पढेपछि लामालाई श्रेष्ठले धोका दिएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
त्यतिबेला मिडियामा सार्वजनिक भएको अडियो–भिडियोमा पूर्वराजदूत कमानसिंह लामा र हाइड्रो व्यवसायीसमेत रहेकी श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्यबीच आर्थिक लेनदेनसम्बन्धी विवाद रहेको र सो विवाद मिलाउन नारायणकाजी आफैँ अघि सरेका आभाष हुन्थ्यो ।
मेडिकल व्यवसायीहरुले पनि नारायणकाजी श्रेष्ठकै कारण नेपालको मेडिकल भ्रष्टीकरण भएको आरोप लगाउँदै आएका छन् । दुर्गा प्रसाईले त उनको विषयमा सार्वजनिक रुपमै अभिव्यक्ति दिएका छन् ।