arrow

लम्पी स्किनबाट दार्चुलामा मात्रै ५३ हजार बढी पशु संक्रमित

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०८० साउन ३१ बुधबार
Lumpy skin-darchula.jpg

दार्चुला । दार्चुलामा लम्पी स्किन रोगबाट ५३ हजार भन्दा बढी पशु संक्रमित भएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क अनुसार जिल्लाका नौ वटै स्थानीय तहका ५३ हजार २७३ पशु यो रोगबाट संक्रमित भएका हुन् । 

जिल्लाका कूल एक लाख २४ हजार ३५३ पशु चौपायामध्ये ५३ हजार २७३ पशु लम्पी स्किन रोगबाट संक्रमित रहेको  केन्द्रका सूचना अधिकारी खेमराज भट्टले जानकारी दिए । 

उनका अनुसार सबैभन्दा बढी मार्मा गाउँपालिकामा प्रकोप फैलिएको छ । 

मार्मा गाउँपालिकामा मात्रै लम्पी स्किनबाट १० हजार ११६ पशुचौपाया बिरामी परेका छन् । 

यस्तै, मालिकार्जुन गाउँपालिकामा नौ हजार ६६३ पशु संक्रमित भएका छन् । 

सूचना अधिकारी भट्टका अनुसार शैल्यशिखर नगरपालिकामा नौ हजार १४५, लेकममा सात हजार १९१, नौगाडमा पाँच हजार ७४७, व्यासमा तीन हजार ३८९, महाकालीमा तीन हजार २०१, दुहुँमा तीन हजार ३२३ र अपि हिमालमा एक हजार ४९८ पशुहरु संक्रमित भएका छन् । 

जिल्लामा अहिलेसम्म ४३ हजार ५५० पशुहरुको उपचार गरिएको उनले बताए । 

यो रोग खासगरी गाई-गोरु, बाच्छा-बाच्छी, भैंसी, राँगो र पाडा-पाडीमा देखिएको छ ।

केन्द्रले अहिले वडा कार्यालयबाट लम्पी स्किन रोगबाट मरेका पशुचौपायाको विवरण माग गरेको छ । 

एकिन विवरणका लागि सम्बन्धित वडाका किसानहरुले मरेका पशुको विवरण वडा कार्यालयमा बुझाउन भनिएको कार्यालयले जनाएको छ ।

लम्पी स्किन रोगविरुद्धको खोप माग

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले लम्पी स्किन रोगविरुद्धको खोप माग गरेको छ ।

जिल्लाका लागि ७३ हजार १६६ डोज खोप माग गरिएको कार्यालय प्रमुख रामबहादुर खड्काले बताए । 

खोप प्राप्त हुने बित्तिकै सम्पूर्ण स्थानीय तहमा वडादेखि पालिका केन्द्रमा खोप कार्यक्रम संचालन गरिने उनले बताए । 

लम्पी स्किनबाट धमाधम पशु चौपाया मर्न थालेपछि गोठ नै रित्तिने अवस्था आएको छ । 

उक्त रोगका कारण अहिले पशुपालन व्यवसाय नै सङ्कटमा परेको कृषकहरु बताउँछन् ।

पशु चौपायामा ज्वरो आउने, सिँगान तथा र्‍याल बगाउने, शरीरमा गिर्खा आउने, कचेरा लाग्ने, खुर पाक्नेलगायत लक्षणसहित अन्तमा पशुहरूको मृत्यु हुने गरेको केन्द्रका पशु विकास अधिकृत डिगम्बर जोशीले बताए । 

उनका अनुसार लक्षण देखिएका पशु चौपायालाई छुट्टै ठाउँमा राखी सरसफाइमा विशेष ध्यान दिई औषधि उपचार गर्न आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ