arrow

किसानले स्याउ टिप्न थाले

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १ शुक्रबार
apple.jpg

मनाङ । हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । 

यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् ।

मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्न थालिएको नासों गाउँपालिका-७ ताचैका किसान सोलबहादुर गुरुङले बताए । 

“केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ”, उनले भने । 

टिपेका स्याउ प्याकेजिङ गरी सुरक्षितरुपमा बजारसम्म पुर्‍याउने गरिएको उनले बताए । 

त्यस्तै नासों-९ स्थित दानाक्यु एग्रो फार्ममा लगाइएको स्याउ पनि टिप्न थालिएको छ । 

पाँच जनाको समूहमा स्याउखेती गरेका फार्मका सञ्चालक राज गुरुङले यस समयमा पाक्ने प्रजातिको स्याउ टिप्न थालिएको जानकारी दिए । 

उनका अनुसार स्थानीयदेखि विभिन्न प्रजातिका विकासे स्याउ अहिले टिप्ने अवस्था भएको छ । 

त्यसैगरी किसान सङ्गीता गुरुङ तमुले स्याउ टिपेर बजारमा पुर्‍याउन प्याकेजिङको काम भइरहेको बताए । 

मनाङमा उत्पादित स्याउ नेपालकै विभिन्न बजारमा खपत हुने गरेको उनले जानकारी दिए । 

“स्याउ स्वादिलो र रसिलो हुनेहुँदा स्थानीय बजारमा नै खपत हुन्छ, विदेशसम्म पुग्नै पाउँदैन”, उनले भने । 

यहाँ उत्पादित स्याउ बजारसम्म सुरक्षितरुपमा सग्लै पुर्‍याउन भने कठिन छ । 

सडकको अवस्था व्यवस्थित नहुँदा यहाँ उत्पादित स्याउ पूरै बिक्री हुन नपाएको किसान सोलबहादुरले बताए । 

“बाटोका कारणले बिक्रीका लागि ल्याइएकामध्ये आधा फाल्नुपर्ने अवस्था छ, बजारसम्म पुग्ने सडक सहज भइदिएको भए किसान खुसी हुने थिए”, उनले भने ।

कृषि ज्ञानकेन्द्रका प्रमुख राजेश्वर सिलवालले मनाङमा उत्पादित स्याउ विशेषगरी काठमाडौँ र पोखराका बजारमा खपत हुने गरेको जानकारी दिए ।

“लामो बाटो छ, सहज बाटो छैन, जसले गर्दा उत्पादित वस्तुको मूल्य किसानले पाउन सकेका छैनन्, बाटो सहज भएमा यहाँका किसानको आय अझ वृद्धि हुन्छ”, उनले भने ।

कोभिड सङ्क्रमणको समयमा यहाँका स्याउ बजारसम्म पुर्‍याउन सकस भए पनि यस वर्ष स्याउको उत्पादन बढेको उनले बताए ।

यस क्षेत्रमा वर्षा नभए पनि सुक्खा पहिरो खसिरहने भएकाले स्याउ बजारसम्म पुर्‍याउन सकस रहेको छ ।

बाटो सहज बनाउन समय लाग्ने भएमा यहाँको स्याउ बजारसम्म पुग्न नपाउँदै कुहिन सक्ने अवस्था रहेको छ ।

हाल सडकअवरुद्ध भएमा तत्कालै सहज बनाउनका लागि डुम्रे-बेंसीसहर-चामे सडक आयोजना कार्यालयले विभिन्न स्थानमा स्काभेटर राखेर सहज बनाउने काम गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ