arrow

महिला टी-२० क्रिकेटमा नेपालले हङकङलाई हरायो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
cricket-women-nepal-2023-08-22.jpeg
तस्बिर-फाइल

काठमाडौँ । चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । 

नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । 

डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन् । 

उनले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट समेत लिइन् । 

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई जितका लागि ८५ रनको लक्ष्य दिएको थियो । 

उक्त लक्ष्य नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । 

नेपालका लागि सम्झनाकुमारी खड्काले अविजित ३६ रन बनाइन् । 

उनले ३६ बल खेल्ने क्रममा पाँच चौकासमेत हिर्काइन् । 

यस्तै पूजा महतोले १६, कप्तान रुविना क्षेत्री बेलबासेले १० रनको योगदान दिइन् । 

हङकङले नेपालको खातामा १३ अतिरिक्त रन थपेको थियो । 

यसअघि नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन् ।

हङकङले १९ दशमलव एक ओभरमा सवै विकेटको क्षतिमा ८४ रन मा बनायो । 

हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन् । 

हङकङको खातामा नेपालले चार अतिरिक्त रन थपेको थियो ।   

बलिङतर्फ नेपालका लागि सीता रानामगर एक्लैले पाँच विकेट लिइन् । 

उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन् । 

सीता प्लेयर अफ दी म्याच भइन् । 

यस्तै इन्दु बर्माले दुई तथा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्री बेलबासेले एक/एक विकेट लिए । 

महिला टी-ट्वान्टी आई सिरिजअन्तर्गत आजै भएको अर्को खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको छ । 

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी-ट्वान्टी आई सिरिज खेलिरहेका छन् । 

यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी-२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ