arrow

दक्षिण एसिया ब्याडमिन्टनमा कविर र अभय रजतमै सीमित

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
badminton-asia-reginal.jpg

काठमाडौँ । नेपालका कविर केसी र अभय महरा काठमाडौँमा भएको ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनशिपको यू–१७ पुरुष युगलतर्फ रजतमै सीमित भएका छन् । 

ब्याडमिन्टन एसियाको आयोजनामा भएको च्याम्पियनशिपको फाइनलमा कविर र अभयको जोडी बंगलादेशका रजोन मिया र एसएसएम सिफत उल्लाहसँग २१–११, २१–११ को सोझो सेटमा पराजित  भएका हुन् । 

नेपाल ब्याडमिन्टन संघको सहआयोजनामा भएको च्याम्पियनशिपको यू–१७ को पुरुष एकलतर्फ पनि उल्लाहले स्वर्ण हात पारे । पुरुष युगलमा स्वर्ण जितेका उल्लाहले एकलमा श्रीलंकाका थिदासा वेरागोडालाई २१–१६, १२–२१, २१–१७ ले पराजित गर्दै च्याम्पियनशिपमा दोश्रो स्वर्ण हात पारे । 

महिला एकलतर्फ श्रीलंकाकी रनिथमा लियाङ्गेले आफ्नै देशका रनुमी मनागेलाई २१–६, २१–८ ले पराजित गर्दै स्वर्ण हात पारिन् । महिला युगल तर्फ पनि रनिथमाले रनुमी मनागेसँग मिलेर अर्को स्वर्ण जितिन् । उक्त जोडीले मालदिभ्सका ऐसत जोया हुसैन र मोहम्मद सरिफ सैबाको जोडीलाई २१–६, २१–६ को समान अन्तरले पराजित गर्दै स्वर्ण जितेका हुन् ।

मिक्स युगल तर्फ श्रीलंकाका थिदासा वेरागोडा र रनिथमा लियाङ्गेको जोडीले आफ्नै देशका हिरुका अलुथ पतबेदाङ्गे र रनुमी मनागेको जोडीलाई २१–१४, २१–१६ ले पराजित गर्दै स्वर्ण हात पारे ।

सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको च्याम्पियनशिपको यू–१५ तर्फ महिलाको एकलमा श्रीलंकाकी नेथमी रत्नायकले श्रीलंकाकै सिथुली रनसिंघलाई २१–१३, २१–१० ले पराजित गर्दै उपाधि जितिन् । नेथमीले मिक्स डबल्ससमा सेनुथ सेथमिता पेरेरासँग मिलेर आफ्नै देशका केनिथ अरुगोडा र सिथुली सनसिंघलाई २२–२०, २१–१२ ले पराजित गर्दै आफ्नो लागि अर्को स्वर्ण हात पारिन् । 

पुरुषतर्फ बंगलादेशका वाली उल्लाहले बंगलादेशकै मोस्तकीम होसेनलाई २१–१५, २१–१५ को समान अन्तरले पराजित गर्दै स्वर्ण हात पारे । 

मिक्स डबल्समा स्वर्ण जितेका सेनुथ सेथमिता पेरेराले पुरुष युगल तर्फ केनिथ अरुगोडासँग मिलेर बंगलादेशका मोस्तकीम होसेन र वाली उल्लाहलाई २१–१५, १९–२१, २३–२१ ले पराजित गर्दै आफ्नो लागि दोश्रो स्वर्ण जिते । 

महिला युगलतर्फ पनि श्रीलंकाका सिथुली रनसिंघ र नेथिम रत्नायकेले स्वर्ण जिते । उक्त जोडीले नेपालका दिलाशा राना र रिहाना शेरचनलाई २१–१२ ,२१–४ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन् ।

श्रीलंकाले यस च्याम्पियनशिपमा मिक्स टिम इभेन्ट्सको २ सहित ९ स्वर्ण हात पारेको छ । यस्तै बंगलादेशले ३ स्वर्ण हात पारेको छ ।

विजयी खेलाडीहरुलाई ब्याडमिन्टन एसियाको डेभलपमेन्ट चेयर वाजिद अली चौधरी, नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बलमा अतिरि सशस्त्र प्रहरी महानिरीक्षक चन्द्र प्रकास गौतम लगायतले पुरस्कार वितरण गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ