arrow

असई हत्या आरोपी एमाले निलम्बित सांसद कोइरी अझै फरार, नेताहरु चोख्याउने प्रयासमै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
laxmi-mahato-koiree-kp-oli.jpg
तस्बिर– कोइरीसँग एमाले अध्यक्ष केपी शर्मा ओली ।

महोत्तरी । कानूनलाई छल्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि सजायसमेत नहुने आशामा चुनावी मैदानमा होमिएका लक्ष्मी महतो कोइरीले अपेक्षाकृत परिणाम नै हासिल गरे ।

निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश गरेर महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य चुनावमा होमिएका कोइरीले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै संसद बने । तर उनको यो खुशी धेरै दिन टिक्न नै पाएन ।

१९ मंसिर २०७७ मा जनकपुर उच्च अदालतले ज्यान मारेको अभियोगमा उनै कोइरीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दियो । अदालतको आदेशबमोजिम कोइरी न तारेखमा गए न त थुनामा नै बसे, प्रहरीले कोइरीलाई फरार सूचीमा राख्यो ।

कानूनी छिद्राबाट संसद त बने, तर संसदीय यात्रामा भने सहभागी हुन पाएनन् । अन्ततः १९ बैशाख २०८० मा उनकै पार्टी एमालेबाट सभामुख बनेका देवराज घिमिरेले संासद पदबाट नै  निलम्बन गरे । मनोनयनसमेत वारेसनामा मार्फत् दर्ता गराएका कोइरीले निर्वाचित भएको प्रमाणपत्रसमेत आफूले लिन पाएनन् ।

त्यसपछि फरार भए कोइरी

मधेस आन्दोलन हुँदै गर्दा २५ भदौ २०७२ मा मधेसी मोर्चाका कार्यकर्ताले असई थमन विकलाई नियन्त्रणमा लिएर लाठी, लात्ती र मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

उपचारका लागि लैजाँदै गर्दा घाइते विकलाई एम्बुलेन्सबाट थुतेर धान खेतमा लगेर विभत्स हत्या गरेको आरोप कोइरीमाथि लागेको थियो । यही प्रकरणअन्तर्गत जनकपुर उच्च अदालतले कोइरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाएको हो । तर उनी आदेश सुनाएको २०७७ देखि नै फरार छन् । सांसद बनिसकेपछि पनि पक्राउ पर्ने डरले उनी भूमिगत अवस्थामा छन् । न उनलाई सुरक्षाकर्मीले  पक्राउ गर्न सकेको छ न त पक्राउ गर्न राज्यले चासो देखाएको छ ।

जनप्रतिनिधिविहीन महोत्तरी–१
माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई १०३० मतले पराजित गर्दै कोइरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको आडमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नयाँबानेश्वरस्थित संसद भवन पुगेका कोइरीको बाक्लै आलोचना भएपछि उनी संसद बैठकमा सहभागी नै भएनन् ।

फरार अभियुक्त कोइरीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने दवाव बढेपछि एमालेको सिफारिसमा सभामुख घिमिरेले उनको सांसद पद निलम्बन गरेका थिए । 

त्यसयता महोत्तरी क्षेत्र नम्बर १ सांसदविहीन बनेको छ । यो क्षेत्रबाट संसदीय नेतृत्व नै नभएपछि विकास निर्माणका कामहरु समेत चलायमान हुन नसकेको स्थानीय बताउँछन् । 

यसरी बने कोइरी एमालेको हतियार

माओवादी केन्द्रको आधार इलाका मानिने महोत्तरी क्षेत्र नम्बर १ लाई पहिलेदेखि नेकपा एमाले तोड्न चाहन्थ्यो । यसका लागि उपयुक्त उम्मेदवारको खोजीमा रहेको एमालेले लक्ष्मी महतो कोइरीलाई फेला पार्यो । 

उनै कोइरी  २०७४ को संघीय निर्वाचनमा पनि गिरिराजमणि पोखरेलसँग भिडेका थिए । २०७४ को निर्वाचनमा गिरिराजमणि पोखरेलले २३ हजार ७ ७६ मत ल्याउँदा लक्ष्मी महतो कोइरीले १९ हजार ४९२ मत ल्याएर पराजित भएका थिए ।

संगठनिक संरचना नै नभएको संघीय समाजवादी फोरमबाट चुनावी मैदानमा होमिएका कोइरीले यति धेरै मत ल्याएपछि नै नेकपा एमालेले उनलाई उम्मेदवार बनाएको थियो । 

निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश गरेर वारेसनामामार्फत मनोनयन दर्ता गराएको भए पनि एमालेले भने १ वर्षदेखि गृहकार्य गरेको एमालेका युवा नेता गुरु भट्टराई बताउँछन् । माओवादी हराउने अभियानअन्तर्गत कोइरीवाहेक बलियो अस्त्र नेकपा एमालेले अरुलाइ नदेखेपछि उनलाई उम्मेदवार बनाएको हो ।  

किन अझै फरार छन् कोइरी ?

निर्वाचित भएको ९ महिना बितिसक्दा पनि लक्ष्मी महतो कोइरी अझै फरार अवस्थामा छन् । पुर्पक्षको लागि अदालतले जेल चलान गर्ने आदेश जारी गरेसँगै फरार रहेका कोइरी किन अनुसन्धान प्रक्रियामा आउन चाहेका छैनन् भन्ने गम्भीर प्रश्न बनेको छ ।

कतिपयले नेकपा एमालेको निर्देशनमा नै फरार रहेको आंकलन गरेका छन् । तर, कानून व्यवसायीहरुले भने उनी भूमिगत हुनुले घटनाका दोषी हुन् भन्ने विषयलाई आफैँले प्रमाणित गरिरहेको टिप्पणी गर्छन् । 

यता एमालेका जिम्मेवार नेताहरूले कोइरीका शुभचिन्तक र परिवारजनलाई यो अवस्थाबाट उन्मुक्ति दिलाएर संसदको भूमिकामा नै फर्काउने आश्वासन दिँदै आएका छन् ।

केन्द्रीय सदस्य जुलीकुमारी महतोले  कोइरीको गृह गाउँ पुगेर एक कार्यक्रममा उनलाई उन्मुक्ति दिलाएर नै छाड्ने बताइन् । ‘हामी लागिपरेका छौँ, जसरी पनि उन्मुक्ति दिलाएर नै छाड्छौँ,’ उनले भनिन् । 

उनको अभिव्यक्तिलाई हेर्ने हो भने पनि कोइरी एमालेको निर्देशनमा नै भ्रमिगत बनेको आरोप लागेको छ । संसदमा समेत एमालेका रघुवीर महासेठले कोइरी निर्दोष रहेको अभिव्यक्ति दिएका थिए ।

के भन्छ प्रहरी ?

उनी कहाँ छन् भन्ने विषयमा आफूहरुले निगरानी गरिरहेको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी दिलीप गिरीका अनुसार कोइरीको मोबाइलसमेत ट्रयाक भइरहेको छ । 

कतिपयले कोइरी गृह ठाउँ निगौलमा नै रहेको बताए पनि त्यसमा कुनै सत्यता नभएको प्रहरीको भनाइ छ । ‘हामी खोजीरहेका छौँ । भेट्नासाथ पक्रन्छौँ,’ गिरीले भने, ‘तर मोबाइलको लोकेसनअनुसार उहाँ नेपालमा भएको देखिँदैन ।’ 

उनलाई पक्राउ गर्न यसअघि गृह मन्त्रालयले ७७ वटै जिल्लामा सर्कुलर जारीसमेत गरेको थियो । तर, उनी सांसद पदबाट निलम्बन भएपछि सुरक्षाकर्मीले उनलाइ पक्राउ गर्न बेवास्ता गरेको देखिन्छ । (न्युज कारखानाबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ