arrow

प्रमुख निर्वाचन आयुक्तले भने- तपाईँहरूको एउटा सकारात्मक दबाब चाहियो [भिडियो]

निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा छिटो पारित गराउन दबाब सृजना गरौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
dinesh-thapaliya.jpg

काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा छिटो पारित गर्न दबाब सृजना गर्नुपर्ने बताएका छन् । आम नागरिकको आवाज निर्वाचनमार्फत मुखरित हुने गरी आयोगले सो विधेयकको मस्यौदा तयार पारी सरकार समक्ष पेस गरेकाले त्यसलाई सदनबाट पारित गराउन आयोगले सम्बन्धित पक्षको दबाबको अपेक्षा गरिएको बताएका हुन् । 

सोमवार निर्वाचन आयोगले काठमाडौँमा गरेको छलफलमा उनले सो विधेयकको मस्यौदामाथि आम बहसको विषय बनाउनका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सञ्चारकर्मीसहित सम्बन्धित पक्षलाई आग्रह गरे । आयोगको ध्येय सो कानून निर्माण गरी २०८४ सालको निर्वाचनलाई कसरी राम्रो निर्वाचन गर्न सकिन्छ ? भन्नेतर्फ केन्द्रित रहेकाले त्यसमा आयोगलाई सञ्चारकर्मीहरूले पनि सहयोग गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई थियो । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘हामीले आम नागरिकको आवाज निर्वाचन शासकीय प्रणालीमा सुधार गर्ने हो भने निर्वाचन व्यवस्थापन सुधार हुनुपर्छ । निर्वाचन गतिलो भयो भने मात्रै निर्वाचनमा सदाचारिता कायम गर्न सकियो भने मात्रै हामीले खोजेको सुशासन प्राप्त हुनसक्छ भन्ने ध्येयका साथ यो ऐनको मस्यौदा तयार गरेर यो विधेयकको मस्यौदा तयार गरेर हामीले पेस गरेका छौं । त्यस कारण यसलाई छिटो, छरितो रूपमा पारित गर्नको निम्ति मैले तपाईँहरूसँग चाहिँ एउटा गुणात्मक सुधारका लागि सकारात्मक हस्तक्षेप गर्नुपर्छ भन्ने उद्देश्यका साथ तपाईँहरूको एउटा सकारात्मक दबाब चाहियो । त्यो दबाब हामीमाथि पनि केन्द्रित भए हुन्छ । आयोग पनि उठोस्, जागोस्, तातोस् ।' 

उनले निर्वाचन व्यवस्थापनसम्बन्धी सो कानूनको मस्यौदा सरकारले छिट्टै संसद्मा पेस गर्ने विश्वास व्यक्त गर्दै सो मस्यौदा जस्ताको तस्तै पारित भए नेपालको निर्वाचन सुधारको क्षेत्रमा अग्रगामी कदम हुने जिकिर समेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ