arrow

बाइडेनको भ्रमण चर्चाबीच अमेरिकी वाणिज्यमन्त्री बेइजिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
china-usa_1617870008.jpg

काठमाडौं ।  अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्डोले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा भेटवार्तामा विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच स्थिर सम्बन्ध हुनु ‘अत्यन्त महत्वपूर्ण’ भएको बताएका छन‍् । 

वासिङ्टनले बेइजिङसँगको व्यापार तनाव कम गर्न काम गरिरहेका बेला हालैका महिनाहरूमा अमेरिकी अधिकारीहरूले चीनमा गरेको उच्चस्तरीय भ्रमणको शृङ्खलामा एक मन्त्रीका रूपमा उनको यो पछिल्लो भ्रमण हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्ष चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने समाचारहरू सार्वजनिक भइरहँदा अमेरिकी बाणिज्य मन्त्रीका रूपमा राइमोन्डोले व्यापार क्षेत्रमा रहेका तनाबलाई कम गर्न चीन भ्रमण गरेका हुन् । 

सोमबार बिहान चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओसँग भएको भेटमा राइमोन्डोले दुई देशबीचको आर्थिक सम्बन्ध ‘विश्वकै सबैभन्दा महत्वपूर्ण’ भएको बताएका छन‍् । 

“हामी बीच ७०० अर्ब डलरको व्यापार छ र म तपाईसँग सहमत छु कि हामीसँग स्थिर आर्थिक सम्बन्ध हुनु अत्यन्त महत्वपूर्ण छ,”अमेरिकी वाणिज्य मन्त्रालयले मन्त्री राइमोन्डोलाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“यो एक जटिल सम्बन्ध हो; यो चुनौतीपूर्ण पनि छ,” उनले वाङसँग भने । 

उनले प्रसङ्गलाई जोड्दै भने, “हामी निश्चित रूपमा केही मुद्दाहरूमा असहमत हुनेछौं, तर मलाई विश्वास छ कि यदि हामी प्रत्यक्ष, खुला र व्यावहारिक छौं भने हामी प्रगति गर्न सक्छौं ।”

आइतबार बेइजिङ आइपुगेका राईमोन्डोसँग वाणिज्य मन्त्रालयको अमेरिका तथा ओसियाना विभागका निर्देशक लिन फेङ र चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्सले भेटवार्ता गरेका थिए । 

सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा पोस्ट गर्दै राइमोन्डोले आफ्नो भ्रमणले सम्बन्धमा नयाँ उर्जा दिनेमा आफु आशावादी रहेको बताएका छन‍् । 

भ्रमणका क्रममा उनले चीनको आर्थिक शक्ति केन्द्र साङ्घाईको पनि भ्रमण गर्ने अमेरिकी वाणिज्य विभागले जनाएको छ । उन बुधवार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

पछिल्लो केही बर्ष यता संयुक्त राज्य अमेरिका र चीनबीचको सम्बन्ध दशकौं यताकै सबैभन्दा तल्लो स्तरमा झरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ