arrow

युवा जोगाउने, पार्टी जगाउने

logo
ठाकुर बराल
प्रकाशित २०८० भदौ १३ बुधबार
Thakur Baraj.jpg

मेरा एक मित्र ३ वर्षअघि भेट्दा लक्जरियस कारमा चढेर हिँडेको देखेको थिएँ । उच्च घरानाको बसाईं, उस्तै खानपिन । आजकलका दिनहरुमा उनी सामान्य स्कुटर चढेर हिँड्छन् । पोखरामा राम्रै चलेको होटल राम्रोसँग चल्न छोडेपछि उनको आर्थिक स्थिति दैनानुदिन कमजोर हुँदै गैरहेको रहेछ । ऋण तिर्न नसकेर केही घडेरीहरु लिलाम बिक्री भैसकेको, हिजोको उच्च स्तरीय रहनसहन सामान्य भन्दा सामान्य बनिसकेको रहेछ । सामान्यमात्रै होइन, बोलीचालीको भाषामा दयनीय नै भएको रहेछ । 

वीपी कोइराला भन्नुहुन्थ्यो ‘पूँजीवाद त्यसबेला अवनतितर्फ लाग्छ, जब बजारमा मालबाट मुनाफा आउन कम हुन्छ ।’ माल किन विक्दैन भने मान्छेहरुसँग सामान किन्ने पैसा छैन । आज नेपालको बजार यसरी धरासायी हुनुमा पनि यही प्रमुख कारण हो । हामीले दशकौंदेखि सुन्दै आएको कुरा के हो भने, ‘गाउँ रित्तियो । गाउँका जमीन बाँझिए ।’ तर हिजोआज गाउँ मात्रै होइन, विस्तारै बजार पनि रित्तिने अवस्था छ । गाउँबाट गाडी चढेर आएकाहरु बजारबाट हवाईजहाज चढेर विदेशिएका छन्, त्यो पनि देशलाई गाली गर्दै । हाम्रो पुस्ताले चाहेको प्रणालीगत सुधार पुराना पुस्ताको राजनीतिले गर्न सकेको छैन । 

हाम्रो देशको राजनीतिले कुनै महामानव र विद्धान खोजेको होइन, मात्र इमान्दार पात्र खोजेको छ । अलिकति अनुभव र इमान्दारीतापूर्वक सुझबुझको निर्णय गर्न सक्ने मान्छेले माहुरीझैं उडिरहेका युवालाई रोक्न सक्छ भन्ने विश्वास छ । तर अलिकति इमान्दार राजनीतिज्ञ पनि देशमा नहुँदा यो सब डामाडोल भैरहेको छ ।

वीपी कोइरालाले नेतृत्व दिइरहेको युगमा उनका विचारहरु जति प्रभावशाली थिए, उत्तिकै प्रभावकारी आजको युगमा पनि छ । समाजवादी अर्थतन्त्रको शुत्रपात गरेका वीपीले देशभित्रको श्रमशक्ति राष्ट्र निर्माणको प्रमुख आधार ठानेका थिए । ५० को दशकसम्म बस्तु विनिमय गर्ने हाम्रो देश आज युवाहरुलाई रेमिट्यान्ससँग विनिमय गर्ने प्रमुख राष्ट्रको रुपमा दर्ज भएको छ । 

आजका दिनहरुमा तपाईं हामीले भेट्ने सय जना मानिसमध्ये ९० भन्दा बढीले देश रोज्दैन, विदेश खोज्छ । नेपालका युवाहरुको पलायनको दर हेर्दा केही दशकभित्रै देश रित्तिने अवस्था कल्पना गर्न सकिन्छ । खासगरी युरोप अमेरिका गएकाहरु नेपाल फर्किंदैनन् । उनीहरुका सन्तान एउटा विकसित देशमा जन्मिन्छन्, हुर्किन्छन् ।

कालान्तरमा नेपालमा गरिबहरु र केही गर्न नसक्नेहरु मात्रै बाँकी रहन्छन् । त्यसपछि न आर्मीमा जागिर खानेहरु हुन्छन्, न प्रहरीमा । नेपालको निजामती सेवाको विज्ञापनहरु खाली हुनेछन् । युवाहरुको उर्जाशील उमेरले देशमा भविष्य नदेखेर विदेशीएका छन् । यही अनुपातमा युवा विदेशीनु भनेको हाम्रो सबैभन्दा प्रमुख शक्ति क्षीण हुनु हो । यसले नेपालको भविष्य र अस्थित्व माथी प्रश्न उठाइरहने छ । 

पछिल्लो जनगणना अनुसार नेपालमा क्रियाशील जनसंख्या सबैभन्दा उच्च विन्दुमा छ । १५ देखि ५९ वर्ष उमेर समुहका करिव ६२ प्रतिशत अर्थात् १ करोड ८० लाख ७१ हजार जनसंख्या छन् । यो संख्या अघिल्लो जनगणना भन्दा पनि ५ प्रतिशत बढी हो । तर नेपाललाई यो सुविधा धेरै समय रहनेछैन । विस्तारै यो संख्या घट्दै जाने छ । तथ्यांक केलाउने हो भने ५ वर्षभन्दा कम उमेर समुहको जनसंख्या १.३३ प्रतिशत कम भएको छ भने ६० वर्ष भन्दा माथिको जनसंख्या २.०८ प्रतिशत बढेको छ । यसको अर्थ जन्मिने संख्या भन्दा बुढ्यौलीको अनुपात बढ्दै गएको संकेत हो । त्यसैले नेपालले उपलब्ध युवा जनसंख्याबाट यथाशक्य लाभ लिने विशेष कार्यक्रम लागू गर्नुपर्छ । तर नेपालले युवाहरुलाई देशमै उपयोग गर्ने भन्दा विदेश पठाएर रेमिट्यान्स भित्र्याउने एजेण्डालाई प्रमुख मानेको छ । 

सरकारी तथ्यांक अनुसार दैनिक ३ हजार ३ सय भन्दा बढी नेपाली कामका लागि विदेशीन्छन् । यही हिसावलाई आधार मान्दा वर्षमा करिव १२ लाख नेपाली नेपाल छोडेर विदेश पुग्छन् । १२ वर्षअघि वर्षेनी ८ सय हाराहारी मात्रै विदेश जान्थे । यो बीचमा नेपालमा विकास निर्माणले फड्को मारेको छ । स्तरीय शिक्षालय खुलेका छन् । तर पनि सरकारले देशमा नागरिकलाई अडाउन सकेको छैन । युवाहरु वायू बनेर उडिरहेका छन्, कहिलै नफर्किने गरी ।

यही अवस्था रहिरहे नेपालले एउटा निश्चित अवधी पार गरेपछि अत्यन्तै ठूलो संकटको सामना गर्नुपर्ने स्थिति आउँछ । त्यसो त युवा पलायन रोक्नु सरकारको मात्रै ड्युटी होइन । तर प्रमुख ड्युटी सरकारकै हो । युवा पलायन रोक्ने राजनीतिक दलहरुको एजेण्डामा समेटिएपनि त्यसका लागि यथेष्ट कामयावी योजनाहरु बन्न सकेका छैनन् । नेतृत्व पंक्ति कानमा तेल हालेर मस्त निदाइरहेको छ । सरकारले ल्याउने हरेक नीति तथा कार्यक्रम र बजेटले युवालाई छुँदैन । असारसम्म देशमै केही गर्ने आसा बोकेर हिडिरहेका युवाहरु साउन लागेपछि पासपोर्ट बोकेर म्यानपावर कम्पनी धाउन थाल्छन् । 

के हो युथ टेवल ?

वीपी कोइरालाले परिकल्पना गरेको र युवा रहुन्जेल नेतृत्व दिएको पार्टीको नेतृत्वमा युवा नपुगेको त्यति नै समय भयो, जति समय कांग्रेसबाट वीपी विदा भए । आज नेपाली कांग्रेसभित्र अधिक चर्चा हुने विषय के हो भने हजुरबुबा पुस्ताबाट कांग्रेसको बागडोर नाति पुस्तामा कहिले हस्तान्तरण हुन्छ ? युवा छँदै लाभको पदमा पुगेकाहरु छोराले युवा उमेर पार नगर्दासम्म नेतृत्वमा टाँसिइरहने परम्पराको अन्त्य गर्न नेपाली कांग्रेसका युवापुस्ताहरुको दवावमुलक अभियान हो, युथ टेवल ।

समुन्द्रमा अघिल्ला छालहरुलाई पछिल्ला छालहरुले जसरी उछिनेर गतिलाई बढाउँछन्, त्यसै गरी अघिल्ला युवाहरुलाई उछिनेर अहिलेको युवापुस्ताले कांग्रेसलाई गति दिनुपर्ने हो । तर अहिलेका युवाहरुले ४० वर्ष अघिका युवालाई पनि उछिन्न सकेका छैनन् । यसको प्रमुख कारण पार्टी सञ्चालनको तदर्थवाद हो ।

लोकतन्त्रको पर्याय नेपाली कांग्रेस र मातहतका संघ संगठनहरुमा आन्तरिक प्रतिश्पर्धा नभएको दशकौँ भएको छ । कांग्रेसको नर्सरी नेवीसंघमा विद्यार्थी जीवन पार गरेपछि मात्रै नेतृत्व पाइन्छ । कांग्रेसको मेरुदण्ड तरुण दलमा ५० ननाघुञ्जेल नेतृत्व गर्न पाइँदैन । भ्रातृ र शुभेच्छुक संस्थाहरु भुत्ते भएका छन् । 

हो, हाम्रा पार्टीहरु नेतृत्वको गुणगानमा रुमलिएका छन् । देशमा आइपरेका संकटबाट मोक्ष खोज्ने भन्दा नेताको चाप्लुसी र जयजयकारमा युवाहरु ठप्प छन् । यसले के पुष्टि हुन्छ भने, उमेरले लक्का जवान भएपनि विचारले लय नसमात्दा हाम्रा सन्ततीहरुको भविष्यको ढोका खुल्न सकेको छैन ।

यसर्थ समकालीन राजनीतिका मसिहाहरुले आफुलाई सुधारेर देशप्रति विश्वास जागा राखिराख्न अब नेतृत्व हस्तान्तरण गर्न ढिला गर्नु हुँदैन । युवा पनि जोगाउने र पार्टीहरुलाई जगाउने अभियानका रुपमा पोखराबाट युथ टेवल अभियान थालनी भएको छ । यो अभियानमा समाहित हुन हार्दिक आह्वान गर्दछु । (लेखक बराल नेपाली कांग्रेसका युवा नेता हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ