arrow

नक्कली बुबा बनाएर नागरिकता लिन खोज्ने भारतीय नागरिक पक्राउ

logo
रवीन्द्र यादव
प्रकाशित २०८० भदौ १६ शनिबार
police nawalparasi.jpg

पश्चिम नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले नक्कली बुबा बनाएर नेपाली नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका वडा नं. ९ अठलहीस्थित मामा घर बस्दै आएका वर्ष १९ का राहुल कुर्मी रहेका छन् । 

प्रहरीका अनुसार कुर्मीले प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवाका गौरीशंकर कुर्मीलाई बुबा बनाएर नेपाली नागरिकता लिन खोजेका थिए । 

उनलाई जिल्ला अदालतबाट नागरिकता सम्बन्धी कसुर उद्योगमा पाँच दिन म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी भोजराज पाण्डेले बताए । 

कुर्मीले प्रतापपुर गाउँपालिका वडा नं ६ को वडा कार्यालय गुठी परसौनीबाट साउन १ गते जारी गरिएका जन्मदर्ता बनाएका थिए भने केही दिनपछि नागरिकताको लागि सिफारिस लिएका थिए ।

उनी नागरिकताका लागि इलाका प्रशासन कार्यालय सेमरी पुगेपछि प्रशासन कार्यालय सेमरीले जन्मदर्ता किन ढिलो बनाएको भन्दै सम्बन्धित प्रहरीलाई स्थलगत नागरिकता सर्जमिन मुचुल्काका लागि पत्र पठाएको थियो । 

छानविन गर्नेक्रममा शंकास्पद देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

भारतीय नागरिकको कसरी जन्मदर्ता बनाइयो र वडाबाट सिफारिस गरिएको हो ? भन्ने प्रश्न उठेको छ । यस घटनामा वडासचिव र कार्यवाहक वडाध्यक्षको मिलोमतो भएको हुन सक्ने आशंका गरिएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयन भएसँगै असार १० गतेदेखि नयाँ ऐन अनुसार जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले नागरिकता वितरण गर्दै आएको छ । 

नागरिकता ऐन कार्यान्वयन भएयता जिल्ला प्रशासन कार्यालय परासी र इलाका प्रशासन कार्यालयबाट अहिलेसम्म तीन हजार चार सयले नागरिकता प्राप्त गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ