arrow

एमालेमा मिनि महाधिवेशनको झल्को, नेताहरु दौडधूपमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १७ आइतबार
uml-cpn.jpg

काठमाडौँ । एमालेमा अबको दुई वर्षभित्र ११ औँ महाधिवेशन भएर नयाँ नेतृत्व चयन गर्ने भए पनि प्रदेश अधिवेशनले मिनि महाधिवेशनको झल्को दिएको छ । प्रदेश कमिटी र अध्यक्षलाई शक्तिशाली बनाएका कारण प्रदेश अधिवेशनहरूमा नेतृत्व हत्याउन पोलिटब्युरो र केन्द्रीय कमिटीकै नेताले दौडधुप थालेको र केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आ–आफ्ना पक्षका नेताहरुलाई नेतृत्वमा ल्याउन बल गरेपछि मिनी महाधिवेशनको झल्को दिएको हो । 

प्रदेश कमिटी कार्यकारी बनाएर अध्यक्षलाई पदेन पोलिटब्युरो सदस्य बनाएका कारण नेतृत्व लिन धेरै नेताहरुले रस्साकस्सी गरिरहेका छन्  । यसले गर्दा समग्र प्रदेशहरुमा नेताहरुको रौनकता देखिएको छ । 

अध्यक्षका आकांक्षी धेरै देखिँदा आन्तरिक प्रतिस्पर्धा पनि देखिएको छ ।  प्रदेश अध्यक्षले समग्र प्रदेशको नेतृत्व र परिचालनसँगै पोलिटब्युरो र केन्द्रीय कमिटी दुवैमा आफ्ना धारणा राख्न पाउने आगामी दिनमा संघ, प्रदेश, र स्थानीय तहमा टिकट वितरण गर्नसमेत पाउने भएपछि उनीहरुले नेतृत्वमा बल गरिरहेका छन् ।  

एमाले संघीय संरचनापछि एमालेले पहिलोपटक प्रदेश अधिवेशन गर्दैछ । एमालेको प्रदेश अधिवेशनमा पहिलो शनिबार लुम्बिनीबाट सुरु भैसकेको छ । बुटवलमा आइतबारसम्म चल्ने प्रथम अधिवेशनको उद्घाटन अध्यक्ष केपी ओलीले गरेका थिए । शनिबार दिउँसो भैरहवा विमानस्थल पुगेका ओलीलाई विमानस्थलमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेल दुवै जना लिन पुगेका थिए । 

यद्यपि महासचिव पोखरेल भने शनिबार साँझनै जम्बो टोलीको नेतृत्व गरेर चीन गएका छन् ।

असोजभित्र सम्पन्न गर्ने गरी डेढ महिने अधिवेशनको कार्यतालिका सार्वजनिक गरेर एमाले प्रदेशमा नयाँ नेतृत्व चयनको प्रक्रियामा प्रवेश गर्दैछ । 

केन्द्रीय सचिवालयले प्रदेश अधिवेशन तयारी अगाडि बढाउन निर्देशन दिएको थियो । अधिवेशन नजिकिएसँगै आकांक्षी उम्मेदवार पनि बढेका छन्  । तर एमालेले समूहगत चुनावमा जान भने रोकेको छ । अध्यक्षमा वा कुनै पनि पदमा प्यानल बनाएर उठ्न निषेध गराइएको छ ।  

लुम्बिनीमा अध्यक्षका आकांक्षी खुलिसकेका कारण उनीहरुले बिहीबार र शुक्रबार बेग्ला बेग्लै भेला गरेर आफ्नो पक्षमा माहोल बनाइरहेका थिए । 

अधिवेशनको सँघारमा केन्द्रीय सदस्य हरि रिजाल र अहिलेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले आकांक्षा राखेर तयारी गरेपछि उनीहरुले बेग्ला बेग्लै कार्यकर्ता भेला गरेका हुन्  । 

रिजालले महासचिव शंकर पोखरेल र कँडेलले उपाध्यक्ष विष्णु पौडेलको समर्थन लिएका छन् ।  

दाङका लक्ष्मण आचार्य पनि आकांक्षी छन्  । तर उनले रिजाललाई नै समर्थन भन्दै छाड्ने बताइएको छ । 

एमालेले लुम्बिनीमा अधिवेशनबाट दुई सय पाँच जनाको प्रदेश कमिटी चयन गर्दै छ । यसअघि अहिले केन्द्रबाटै बनेको कमिटीमा ६ सय एक जना छन्  । 

प्रदेशका १२ जिल्लाबाट प्रतिजिल्ला पाँच जनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रतिक्षेत्र पाँच जनाका दरले एक सय ३० जना र खुलाबाट पाँच पदाधिकारीसहित १५ जना रहने गरी दुई सय पाँच जनाको प्रदेश कमिटी चयन हुनेछ । 

प्रदेशबाट उपाध्यक्ष पौडेलसहित पदाधिकारी तहमा उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्ट पनि छन्  । 

सहमतिका लागि पौडेल, पोखरेल, ज्ञवाली र विष्ट सहमत भएर अध्यक्ष ओलीलाई नै ‘कन्भिन्स’ गर्नुपर्ने हुन्छ  । 

केन्द्रीय सचिवालयको पछिल्लो निर्णयले प्रदेश अध्यक्षमा उम्मेदवारहरूको आकर्षण बढे पनि पार्टीले पहिलो प्राथमिकता सर्वसम्मतिमै दिएको स्थायी समिति सदस्य तथा प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको दाबी छ । 

प्रदेशका अध्यक्षसहित पदाधिकारी र सदस्यका सबै आकांक्षी पालिका तहमा हुने चुनावबाटै निर्वाचित भएर आउनुपर्ने मापदण्ड बनाएका कारण पनि पार्टीको मूल नेतृत्वले प्रतिस्पर्धालाई निषेध गर्न नहुने बलियो मत छ  । 

त्यही कारण एमालेले अहिलेलाई सहमति र चुनाव दुवै विकल्प खुला राखेको छ । पार्टी केन्द्रीय कार्यालयले उपलब्ध गराएको कार्यतालिका अनुसार असोज १२ र १३ मा कोशी प्रदेशको विराटनगरमा अधिवेशन हुनेछ । 

त्यहाँ दोहोरो जिम्मेवारीमा रहेका तीन सय ५१ प्रदेशस्तरीय नेताहरू दोहोरो जिम्मेवारीबाट मुक्त हुने बताइएको छ त्यसो भएमा अधिवेशनबाट चार सय ७१ सदस्यीय प्रदेश कमिटीबाट एक सय ५१ सदस्यीय कमिटी बन्नेछ ।

त्यहाँ विनोद ढकाल, तुलसी न्यौपाने, विशाल भट्टराई लगायतका नेताहरुले आकांक्षा राखेका छन् । 

कोशीमा पनि सर्वसम्मत गर्ने कोसिस भैरहेको विशाल भट्टराईले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ