- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीको निवास इटालीटारमा संस्थापन इतरका नेताहरुको छलफल भएको छ ।
बैठकमा महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, महामन्त्रीका प्रत्यासी प्रदीप पौडेल, सहमहामन्त्रीद्धय बद्री पाण्डे र जीवन परियारसँगै प्रभावशाली नेताहरु बलबहादुर केसी र दिलेन्द्रप्रसाद बढू सहभागी भएका थिए ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे सामान्य छलफल भएको नेता केसीले जानकारी दिए । संस्थापन इतरका नेता डा. शेखर कोइराला बाहिर भएकाले पनि उनी सहभागी नभएका हुन् । त्यसैगरी उपसभापति एवं कानून मन्त्री धनराज गुरुङ भने कार्यव्यस्तताका कारण उपस्थित नभएको बुझिएको छ ।
यो बैठकमा विशेषगरी महामन्त्री शर्मा र महामन्त्रीका प्रत्यासी पौडेलको सहभागीतालाई विशेष अर्थका रुपमा लिइएको छ । दुवै जना पहिलो पटक संस्थापन इतरको बैठकमा देखिएका हुन् ।
पार्टीको संसदीय दलको चुनावको बेलामा एकैठाउँमा आइपुगेका उनीहरु त्यसपछि पनि संस्थापन इतरको बैठकमा सहभागी भएका थिएनन् ।
उनीहरुलाई संस्थापन इतरको बैठकमा सहभागी गराउन निकै दबाब बढेको थियो । तर पनि उनीहरु लामो समयपछि मात्र आइतबारको बैठकमा सहभागी भएका हुन् ।
नेता केसीको सक्रियतामा उनकै निवासमा शर्मा र पौडेल पनि सहभागी भएका हुन् ।
अब भने शेखर कोइरालाले बोलाउने बैठकमा उनीहरुको उपस्थिति हुने विश्वास गरिएको छ ।