arrow

शैक्षिक क्षेत्र सुधारका लागि सार्थक प्रयास आवश्यक : सांसद थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २३ शनिबार
Bindu Kumar Thapa-pokhara.jpg

पोखरा । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले शैक्षिक क्षेत्र सुधारका लागि सार्थक प्रयास हुनुपर्नेमा जोड दिएका छन् ।

पोखरास्थित शिवशक्ति क्याम्पसको ३१औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै पूर्वमन्त्रीसमेत रहेका थापाले उच्च शिक्षाका लागि विदेश दौडनुपर्ने विडम्वनायुक्त र कहालीलाग्दो अवस्था सधैंका लागि अन्त्य गर्न सार्थक प्रयास आवश्यक रहेको बताए ।

‘शिक्षा क्षेत्रमा जनता, स्थानीय, प्रदेश र संघ सरकारका साथै दातृ निकायको पनि प्रशस्तै लगानी छ । तर प्रतिफल सोचेबमोजिम आउन नसकेको अवस्था छ । यस्तो अवस्था आउनुको कारण खोजी गर्दै दीर्घकालीन रणनीति अवलम्वन गर्न आवश्यक छ’, उनले भने ।

शैक्षिक क्षेत्रबाट दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै प्रदेश सरकारले पढ्दै सिक्दै कार्यक्रम अघि बढाएको भन्दै उनले यसको सही कार्यान्वयन हुनुपर्ने खाँचो औंल्याए । 

सांसद थापाले शैक्षिक क्षेत्र सुधारका लागि स्थानीय सरकारदेखि नै पहल आवश्यक रहेको भन्दै यसका लागि आफू र प्रदेश सरकार प्रतिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाए । 

शिवशक्ति क्याम्पस पोखराको गहना भएकाले यसको प्राविधिक र भौतिक विकासमा आफूले आवश्यक भूमिका खेल्न तयार रहेको थापाले प्रतिवद्धता जनाए । 

पोखरा ११ का वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्यले वडाको एकमात्र क्याम्पसको विकास र अन्य क्षेत्रमा विगतदेखि नै सहयोग भइरहेको र आगामी दिनमा पनि बढाउँदै लैजाने प्रतिवद्धता जनाए । 

नेपाल पव्लिक क्याम्पस संघ कास्कीका अध्यक्ष सुरेश मानन्धरले सामुदायिक क्याम्पसका लागि निकै धेरै चुनौती रहेको भन्दै विद्यार्थीको शुल्कले क्याम्पस सञ्चालन गर्नु झनै चुनौतीपूर्ण रहेको बताए । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टुवराज (विशाल) बास्तोलाले क्याम्पसलाई उत्कृष्ट बनाउन निकै धेरै प्रयासहरु भएको भन्दै पढ्दै कमाउँदै, कमाउँदै पढ्दै लगायतका विद्यार्थीलाई आकर्षित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न प्रयासरत रहेको बताए । 

उनले समयसापेक्ष, युग, देशको माटो सुहाउँदो २१ औं शताब्दि अनुसारको शिक्षा आजको आवश्यकता हो भन्ने कुरालाई आत्मसाथ गर्दै सञ्चालक समिति र क्याम्पस प्रशासन अघि बढिरहेको स्पष्ट पारे । 

उनले भने, ‘युवा जनशक्तिलाई ठूलो मानिस भन्दा पनि असल, सक्षम, सबल, योग्य र अनुशासित दक्ष जनशक्तिको रुपमा स्थापित गरि समाज र देशको सेवामा लगाउन निकै चुनौतीपूर्ण छ तर यो दायित्व पूरा गरेरै छाड्छौं ।’

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष दामोदर बास्तोला, एनफोर्डस्का उपाध्यक्ष प्रेम कुँवर, शिवशक्ति माविका प्रधानाध्यापक शम्भुराज बास्तोला, मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडोविल, क्याम्सस प्रमुख चन्द्रकान्त रेग्मी, पूर्व क्याम्पस प्रमुख दीपक बास्तोला, सहायक क्याम्पस प्रमुख रमेश थापा लगायतले बोलेका थिए । 

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष दामोदर बास्तोला, योगराज बास्तोला, निवर्तमान कार्यबाहक अध्यक्ष मायादेवी तझ्या, सहायक क्याम्पस प्रमुख रमेश थापा, पूर्व क्याम्पस प्रमुख दीपक बास्तोला, पूर्व लेखा प्रमुख ज्ञानहरि आचार्य, प्राध्यापकहरु युक्ता थापा, मुक्तिराम अधिकारी, गणेश शर्मा, तोलाकान्त न्यौपाने, शान्ति सिग्देल, लिलावती पनेरु लगायतलाई सम्मान गरिएको थियो । 

सो अवसरमा अध्यक्ष टुवराज बास्तोलाले आफ्ना पिता-माताको सम्झनामा ओमनाथ-पवित्रा बास्तोला स्मृति छात्रवृत्ति अक्षयकोष स्थापनाको घोषणा गरेका थिए ।

उनले अक्षयकोषको रकम एक लाख एक हजार रुपैयाँ क्याम्पस प्रमुख रेग्मीलाई हस्तान्तरण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ