- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले महामानव वीपी कोइरालाको राजनीतिक विचारलाई हिजो जस्तै आज पनि मनन् गर्नुपर्ने बताएकी छिन् ।
नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिद्वारा आयोजित नवौं वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।
भ्रष्टाचार अन्त्यका लागि आर्थिक उपार्जन र उत्पादनसँग जोड्न आवश्यक रहेको भन्दै यसतर्फ कांग्रेसले गहन ढंगबाट छलफल चलाउन आवश्यक रहेको बताइन् ।
पार्टीको मुख्य सिद्धान्त बीपीको भएपनि पछिल्लो समयमा बिर्सिएको अनुभूति सबैमा भएको भन्दै उनले बीपीको सिद्धान्त बिर्सिएर समाजवादको कुरा गर्न नमिल्ने तर्क गरिन् ।
‘बीपीको कार्यकर्ता हामीले एकअर्कालाई सम्मान गर्न, अस्तित्व स्वीकार गर्न नसकेर हात तान्नुको सट्टा खुट्टा तान्ने हामीसँग सधैं भ्यागुता प्रवृत्ति छ । यसले हामी जानुपर्ने ठाउँमा, पुग्नुपर्ने ठाउँमा पुग्न सकिरहेका छैनौं’, बीपी कोइरालाको शब्द सापटी लिँदै उनले भनिन्, ‘कांग्रेसका मात्रै होइन राजनीति गर्ने हरेक नेता सरल स्वभावका हुनुपर्छ, समाजलाई बुझ्ने खालको हुनुपर्छ र समाजप्रति समर्पित हुनुपर्छ ।’
सशक्तीकरणको अभावका कारणले महिला दिदीबहिनीहरु विभिन्न हिंसाबाट पीडित हुनुपरेको भन्दै उनले महिला आर्थिक पाटोमा सशक्तीकरण नभएसम्म हिंसाबाट पीडित भइरहनुपर्ने बताइन् ।
महिलाहरु चेतनशील हुन सके समाजका धेरै विभेद, विकृति र विसंगति स्वतः अन्त्य हुने उनले दाबी गरिन् ।
उनले भनिन्, ‘आमा भनेको सबैभन्दा सहनशील पात्र हुन्, आमा नहुँदा घर शून्य हुन्छ । बुबा र छोराछोरीलाई जोड्ने काम, समाजलाई जोड्ने काम आमाले गर्छिन् । आमा, भाउजु, दिदीबहिनी बीचको विभेद अन्त्य गर्न आमा नै अग्रसर हुनुपर्छ । हरेक सासु र बुहारीले एकले अर्काको भावना बुझ्न सके घर निकै सुन्दर हुन्छ ।’
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेकी नेतृ थपलियाले महिलाले घर सञ्चालन गरे जस्तै देश सञ्चालन गर्ने प्रतिवद्धता आफैले गर्नुपर्नेमा जोडसमेत दिइन् ।
उनले पारिवारिक, सामाजिकसँगै राज्यसत्तामा पनि पहुँच बढाउन महिला आफैले अग्रसरता देखाउनुपर्ने बताइन् ।
‘पारिवारिक सत्तामा दाजुभाइ, छोरो, श्रीमान लगायतका सबै हुनुहुन्छ । त्यहाँबाट महिला निस्कन निकै कठिन हुन्छ’, उनले भनिन्, ‘पारिवारिक सत्ताबाट अलिकति माथि उठियो भने सामाजिक सत्तामा क्षमता, योग्यता र चरित्रको कुरा जोडिएर आउछ । यसले राजनीतिमा आउन कठिन हुन्छ । राज्यसत्तामा आउन र प्रतिस्पर्धा गर्न सहज छैन ।’
सबै समस्यालाई पन्छाएर नेपाली कांग्रेसले आन्तरिक राजनीतिक मजबुत बनाउन प्रयास गरिरहेको भन्दै अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन गर्दै पार्टी अघि बढेमा आगामी आम चुनावमा कांग्रेस बलियो बन्ने विश्वास व्यक्त गरिन् ।
नेतृ थपलियाले पार्टीलाई मजबुत, एकढिक्का र गतिशील बनाउनका लागि महत्वपूर्ण हुने क्रियाशील सदस्यता महत्वपूर्ण हुने भन्दै क्रियाशील सदस्यता वितरण गर्दा निकै ध्यान दिनुपर्नेमा जोड दिइन् ।
रुख चिन्हमा मतदान नगर्ने व्यक्तिलाई क्रियाशील सदस्य बनाउन नहुने भन्दै पार्टीको क्रियाशील सदस्यका सम्बधमा छानविन गर्न आवश्यक रहेको स्पष्ट पारिन् ।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले राजनीति र आर्थिक रुपान्तरणका लागि कांग्रेस र वीपी पर्यायवाची भएको बताए ।
उनले उद्यमशीलतासँग नजोडिएसम्म भ्रष्टचार अन्त्य नहुने भन्दै उनले पार्टीका कुनै पनि कार्यकर्ता उद्यमशीलता र सिर्जनशीलतासँग नजोडिएसम्म मुलुक समृद्धितर्फ अघि बढ्न नसक्ने स्पष्ट पारे ।
कास्की कांग्रेसका सहसचिव नवीन सिग्देलले सामाजिक र रचनात्मक गतिविधिले पार्टी बलियो हुने बताए ।
कार्यक्रममा पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुली, समितिका संस्थापक सभापति केदार धमला, निवर्तमान सभापति लालप्रसाद पाठक, वरिष्ठ सल्लाहकार कृष्णकुमार श्रेष्ठ, नेपाली कांग्रेस पोखरा-६ का सभापति सन्तोष पौडेल, समितिका सल्लाहकार मोहन पण्डित, नेपाल जनस्वास्थ्य संघका केन्द्रीय उपाध्यक्ष विमला भट्ट, धादिङ त्रिपुरा बाराही महिला समूहकी अध्यक्ष बबिता मल्ल इटनी लगायतले बोलेका थिए ।
समितिका सभापति कमल बहादुर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपसभापति माधव लम्साल र सचिव श्यामबहादुर इटनीले पनि बोलेका थिए ।
सो अवसरमा एसइई र प्लस टु उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको कार्यक्रम संयोजक सीता श्रेष्ठले जानकारी दिइन् ।