arrow

विवादमा ‘एक भगवत् गीता’

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
ek-bhagwat.jpg

काठमाडौँ। विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ । 

निर्माण पक्षले बोर्डले जाँचपास रोकेको गुनासो गरेको छ । चलचित्र यही भदौ २९ गतेबाट प्रदर्शनका लागि तय भएको थियो । 

बोर्डका प्रवक्ता केएल बुढाथोकीले दुवै पक्षलाई मिलाएर अगाडि बढ्नुपर्ने भएकाले बोर्डको बैठकमार्फत निर्णय गर्ने बताए । उनले भने, “बोर्ड र मातहतको मन्त्रालयमा निवेदन परेको हुँदा दुवै पक्षलाई संवादका लागि हामीले पहल गरेका हौँ । जाँचपास रोकेका छैनौँ, प्रक्रियामै छौँ । निवेदन परेकाले प्रक्रिया केही लम्बिएको हो ।”

जागरण नेपालका अध्यक्ष रामकृष्ण पोखरेलले बोर्डलाई दिनुभएको निवेदनमा कथासारसँग कुनै सम्बन्ध नरहेको शीर्षक व्यावसायिक प्रयोजनका लागि मात्र प्रयोग गरेर सनातन धर्म-संस्कृतिमाथि आँच पुर्‍याएको दाबी गरिएको छ । “श्रीमद्भागवत गीताको नामको दुरुपयोग गर्न खोजिएको हाम्रो ठहर छ । त्यसकारण नाम परिवर्तन गरेर चलचित्र प्रदर्शन गर्न हामी आग्रह गर्छौं । नाम परिवर्तन भएमा हामीलाई कुनै आपत्ति छैन”, निवेदनमा उल्लेख छ । 

निर्माता सुनिलकुमार थापाले भने बोर्डबाट नै नामको स्वीकृति लिएर चलचित्र निर्माण गरिएको बताए । “हामीले कथासार बुझाएर नामको स्वीकृति लिएर छायाङ्कन गर्‍यौँ । अहिले नाम परिवर्तन गर्दा हामीलाई व्यवसायीक क्षति हुन्छ”, निर्माता थापाले भने, “हाम्रो काम वा उद्देश्यले दिने सन्देशलाई मूल्याङ्कन गर्न जाँचपास समिति छ । उनहरूले चलचित्र हेरेर दिनुहुने निर्णय मान्न म तयार छु । यद्यपि जाँचपासकै सिफारिस नपाउनु मलाई अन्याय गरिएको हो ।”

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ