- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । कथालय इन्कले सुप्रसिद्ध लेखक भवानी भिक्षूका कथा, उपन्यास, कवितालगायत कृतिको सम्पूर्ण सर्वाधिकार लिएको छ ।
भिक्षुका सम्पूर्ण कृति कथालयकै विभाग वी रिड प्रकाशनबाट छाप्ने गरी उनका परिवारसँग सम्झौता भइसकेको कथालयका सहसंस्थापक तथा निर्देशक राजीवधर जोशीले बताए ।
भिक्षू जीवित हुँदासमेत उनका कृतिले पुनर्मुद्रणको अवसर नपाएको र हाल बजारमा अभाव रहेकाले क्रमशः सबै पुस्तक प्रकाशन गर्दै लैजाने योजना रहेको जोशीको भनाइ छ ।
‘यही सिलसिलामा लोकप्रिय उपन्यास ‘पाइप नं २’ प्रकाशनमा ल्याइसकेका छौँ,’ उनले भने, ‘भिक्षूका किताब पुरानो समाजका तस्बिर हुन्, जो बजारमा दुर्लभ छन् । नेपाली साहित्यलाई महत्वपूर्ण योगदान गरेका लेखकलाई नयाँ पुस्ताले पनि पढून् भन्ने हाम्रो अपेक्षा हो ।’ पाइप नं २ पहिलोपटक २०३४ सालमा साझा प्रकाशनबाट छापिएको थियो ।
शुक्रबार भिक्षुका छोरा सव्यसाचीलाई ‘पाइप नं २’ हस्तान्तरण गरेपछि उपन्यास औपचारिक रूपमा बजारमा पठाइएको निर्देशक जोशीले जानकारी दिए ।
पाइप नं २ कस्तो उपन्यास हो ?
यो उपन्यासले २०२० सालको दशककी एक शिक्षित महिला नेलीका मुखबाट मान्छेको तन, मन र परिवेशको कथा भन्छ । एउटी विद्रोही प्राध्यापिकाले जीवन र जगत्का रहस्यहरूको व्याख्या कसरी गर्छे, उपन्यासले उसको चरित्रलाई दह्रो गरी उभ्याएको छ ।
पहिले आफ्नो आवश्यकता पूर्ति गर्न पैसाका लागि यौनकर्ममा लागेको भए पनि उच्च शिक्षा पूरा गरेपछि ऊ त्यस्ता कामबाट टाढिन्छे ।
र, बम्भोलासँग नजिकिन्छे । उनीहरूको सम्बन्धबाटै उपन्यास अघि बढिरहन्छ । यौनकर्मबाट टाढिएकी ऊ विवाहका लागि तयार होली ? के बम्भोलाले उसको मन बुझ्न सक्ला ? पात्रहरूको मनोविज्ञान केलाउन सफल भिक्षुको यो उपन्यासले दुराचारबाट सदाचार, अनैतिकबाट नैतिकतातर्फको यात्रा तय गरेको छ ।
को हुन् भिक्षू
अवधी मातृभाषा भएका र हिन्दी–संस्कृतमा शिक्षादीक्षा पाएका भिक्षूका रचना विषयवस्तु र शैलीका हिसाबले मात्र होइन, भाषिक सौष्ठवका हिसाबले पनि महत्वपूर्ण छन् ।
नेपाली कवितामा छायाँवादको थालनी गर्ने भिक्षूका कथा र उपन्यास स्वच्छन्दतावादी र मनोविश्लेषणवादी धाराका प्रतिनिधि रचना मानिन्छन् ।
शुरुमा हिन्दीमा लेख्न थालेका भिक्षुले पछि नेपाली भाषामा साहित्य सिर्जना गरे र नेपाली भाषाले नै उनलाई विशिष्ट लेखकका रूपमा स्थापित गर्यो ।
उनका प्रकाशित कथासंग्रहमा ‘गुनकेसरी’ २०१७, ‘मैयाँ साहेब’ २०१७, ‘आवर्त’ २०२४ र ‘अवान्तर’ २०३४ छन् । ‘सुभद्रा बज्यै’ २०१९, आगत २०३२, पाइप नं २ २०३४ र सुन्तली २०४० उनका प्रकाशित उपन्यास हुन् । छाया, प्रकाश, परिष्कार जस्ता कवितासंग्रहका साथै उनले एकांकी र निबन्ध पनि लेखेका छन् ।
उनी सशक्त मनोवैज्ञानिक आख्यानकार हुन् । उनी नारी मनोदशा र दमित यौनको सजीव र सूक्ष्म चित्रण गर्छन् । ‘आगत’ उपन्यासका लागि उनलाई २०३२ सालमा साझा पुरस्कार तथा मदन पुरस्कार दिइएको थियो । त्रिभुवन प्रज्ञा पुरस्कारबाट पनि सम्मानित उनी नेपाल प्रज्ञा प्रतिष्ठानको संस्थापक सदस्य थिए ।