arrow

कागबेनीको पुनःनिर्माणबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
kagbeni-khola-flood.JPG
तस्बिर-फाइल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागङ्गोडा लाबेबीच बाढी प्रभावित मुस्ताङको कागवेनीको पुनःनिर्माण र पुनःस्थापनाका सम्बन्धमा आज छलफल भएको छ ।

भेटमा मुख्यमन्त्री पाण्डेले गत साउन २८ गतेको बाढीका कारण कागबेनीमा भएको क्षतिका कारण स्थानीयले अहिले पनि सास्ती भोग्नुपरेको, व्यक्तिगत, सामुदायिक सरकारी संरचना ध्वस्त भएको बताउँदै सहयोगका लागि युएनडीपीको ध्यानाकर्षण गराए ।

प्रदेश सरकारको सीमित स्रोत र साधनकाबीच पुनःनिर्माणका सबै काम तत्काल पूरा गर्न सहज नभएको भन्दै उहाँले दातृ निकायले सरकारको योजनाअनुसार सहयोग गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम अनुसारका योजनालाई प्राथमिकता दिन अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशभित्रको बसाइँसराइ रोक्न उत्पादनमुखी कार्यक्रममा सहयोग गर्न आग्रह गरे ।

साना तथा मझौला उद्योगको स्थापना गरी रोजगारीको अवसर सिर्जना गर्दै युवालाई स्वरोजगार बनाउने कार्यक्रममा जोड दिन उनले युएनडिपीलाई आग्रह गरे ।

युएनडिपीका नेपाल प्रमुख लाबेले गण्डकी प्रदेशभित्र सञ्चालित परियोजनाको बारेमा जानकारी गराउँदै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रदेश सरकारको प्राथमिकतालाई ध्यान दिएर सहयोग गरिने बताउँदै उनले कागबेनीको पुनःनिर्माण र पुनःस्थापनामा प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । 

फोहरमैला व्यवस्थापन, जलवायु परिर्वतनसम्बन्धी कार्यक्रम अगाडि बढाउन चाहेको बताउँदै उनले कालीगण्डकी करिडोरमा जीवनयापन तथा आय आर्जनसम्बन्धी कार्यक्रम सुरुवात गर्ने, हिमतालसम्बन्धी अध्ययन अनुसन्धानका काम बढिरहेको बताए । 

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले विपद् जोखिम व्यवस्थापन तथा भू उपयोग नीति निर्माणमा प्रदेश सरकारलाई सहयोगको खाँचो रहेको बताए । 

प्रदेशभित्र अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास गरी आयोजनाको प्रभावकारी अध्ययन, तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान, स्थानीय सुशासन र योजना तर्जुमामा प्रदेश सरकासँग सहकार्य गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ