- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन असोज पहिलो साता गते हुने भएको छ । नेपाली कांग्रेसको भ्रातृसंस्थाका रुपमा रहेको संघको महाअधिवेशन असोज ७ र ८ गते काठमाडौँस्थित राष्ट्रिय सभागृहमा हुन लागेको हो ।
महाधिवेशन गर्नेबारे संघको गत भदौ २० गते बसेको कार्यसम्पादन समितिको बैठकले निर्णय गरेको कार्यवाहक अध्यक्ष अतावुल मन्सुरले बताए ।
दुई दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने तय भएको उनले जानकारी दिए । उद्घाटन कार्यक्रममा सभापति देउवासहित पार्टीका महामन्त्रीहरु गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फर्मुल्लाह मन्सुर लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागीता रहने संघले जनाएको छ ।
महाधिवेशनमा ४१ जिल्ला र सातै प्रदेशबाट गरी ४ सय २५ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमा संघीय निर्वाचन क्षेत्र ४ भन्दा कम भएको जिल्लाबाट ५ जना, ४ भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाबाट ६ जना केन्द्रीय प्रतिनिधिले महाधिवेशनमा सहभागीता जनाउने छन् । त्यस्तै महाधिवेशनमा जिल्ला सभापति र सचिवसमेत पदेन प्रतिनिधिका रुपमा सहभागी हुने संघले जनाएको छ ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । २०६५ सालमा कांग्रेस नेता अब्दुल सत्तारको नेतृत्वमा गठन भएको नेपाल मुस्लिम संघले १ बर्षपछि अर्थात २०६६ सालमा पार्टीको भ्रातृ संस्थाको मान्यता पाएको थियो । संघको पहिलो सम्मेलन २०६६ भदौमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए ।
संघका अध्यक्ष अब्दुल सत्तार कांग्रेसको चौधौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उपाध्यक्ष रहेका अतावुल मन्सुरलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।
संघका महासचिव मुख्तार अहमदका अनुसार हाल संघको महाधिवेशनको तयारी तीव्र पारिएको छ । देशभरबाट आउने प्रतिनिधिहरुको खाने, बस्ने लगायत कार्यक्रमको प्रशासनिक तयारीलाई तीव्र पारिएको उनले बताए ।
मुस्लिम संघ सबै पार्टीमध्ये मुस्लिम समुदायमा सबैन्दा बढी सदस्य भएको भ्रातृसंगठनको रुपमा रहेको महासचिव अहमदको दाबी छ ।