arrow

डा दासलाई ‘दिव्य शताब्दी पुरुष’ सम्मान, गगन भन्छन् –डाक्टर साहेब हरेकका लागि प्रेरक व्यक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३० शनिबार
gaurishankarlal-das-gagan-thapa.jpg

काठमाडौँ । वरिष्ठ चिकित्सक, समाजसेवी तथा प्रशासनिक क्षेत्रमा लामो समयसम्म क्रियाशील व्यक्तित्व डा. गौरीशंकरलाल दासलाई नागरिकस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मान गरिएको छ । 

डा. दासको जन्म शताब्दी वर्ष मनाउने क्रममा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिकाबीच उक्त उपाधि घोषणा गरिएको हो । सिरहा जिल्लामा जन्मिएर २००९ सालदेखि चिकित्सा पेशामा संलग्न डा. लाल दास यही असोज ९ गते एक सय वर्षमा प्रवेश गर्दैछन् ।

सोही समारोहमा ‘डा. गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष’ ४०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको जानकारी गराइयो ।   

शनिबार चावहिलमा आयोजित विशेष कार्यक्रममा जनस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ घोषणाको समर्थन गर्दै प्रमुख अतिथि क्षेत्र नम्बर ४ का सांसद, पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा. गौरीशंकर लाल दासको सामाजिक योगदानको चर्चा जति नै गरे पनि कम हुने बताए । 

गगनले भने, “राज्यले गरे पनि नगरे पनि, यो विशाल उपस्थितिले घोषणा गरेको ‘दिव्य शताब्दी पुरुष’ आफैँमा प्रभावशाली छ । सादा जीवन, उच्च विचार राख्नुहुने डाक्टर साहेब हरेकका लागि प्रेरक व्यक्ति हुनुहुन्छ । उहाँको जन्मशताब्दी वर्ष वर्षभरि उत्साहका साथ हामी सबैले मनाऔँ ।” 

थापाले थपे, “आजका युवाहरूलाई पनि यस कार्यक्रमसँग जोड्नु पर्छ । युवाहरूले डाक्टर साहेबबाट धेरै कुरा सिक्न सक्छन् । उहाँको सामाजिक जीवन र क्रियाशीलताबारे हामीले नौजवानहरूलाई बताउन जरुरी छ ।”

थापाले राज्यस्तरबाट पनि ‘दिव्य शताब्दी पुरुष’ घोषणाका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

दिव्य शताब्दी पुरुषबाट घोषित डा. लाल दासले नागरिक स्तरबाट आफूलाई दिइएको सम्मानप्रति कृतज्ञता व्यक्त गरे ।

पूर्व उपराष्ट्रपति परमानन्द झाले डा. लाल दासलाई राज्यस्तरबाट पनि दिव्य शताब्दी पुरुष घोषणा गरिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगानाले डा. लाल दास प्रेरणाको स्रोत भएको बताउँदै उनी शताब्दी पुरुषको हकदार भएको उल्लेख गरे ।

जन्मशताब्दी मूल समारोह समितिका संयोजक तथा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले समितिले वर्षभरि विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै जन्मशताब्दी वर्ष मनाउने जानकारी दिए ।

कार्यक्रममा समारोह समितिका सदस्य तथा काठमाडौं महानगरपालिका वडा. नम्बर ७ का वडा अध्यक्ष विमलकुमार होडाले पहिले गाउँ भनिए पनि चावहिल क्षेत्रमा दिग्गज व्यक्तित्वहरूको बसोबास रहेको बताए । 

उनले आफ्नै आँगनमा सिद्धहस्त चिकित्सकको जन्मशताब्दी वर्ष मनाउन पाउँदा हर्षित भएको उल्लेख गर्दै डा. लाल दासको जीवनका केही महत्त्वपूर्ण पक्षबारे जानकारी दिए ।

समितिका कोषाध्यक्ष मोहनमणि आचार्यले १५ सदस्यीय कार्यसमिति र २९ सदस्यीय सल्लाहकार समितिका सदस्यहरूको नामावली पढेर सुनाएका थिए ।

आउँदो असोज ९ गते काठमाडौंमा मूल समारोह समितिले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।
   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ